
दीननाथ बराल,
पोखरा, असार १,
श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अधिकार, आवश्यकता र चुनौतीबारे समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही असार १३ गते खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७, २०२६) को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।
संघका अध्यक्ष पुष्पराज रिमालले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदमार्फत समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय नारा“कनेक्टेड वाई टचः व्रेकिङ व्यारियर्स, विल्डिङ ब्रिजेश” लाई आत्मसात गर्दै श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्ने, उनीहरूका अधिकार र समस्याबारे समुदायलाई सचेत गराउने तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो .
प्रतियोगिता असार १३ गते बिहान पोखराको सिर्जनाचोकबाट सुरु हुनेछ। धावकहरूले सिर्जनाचोक–राष्ट्र बैंक चोक–ड्यामसाइड–मुस्ताङचोक–पृथ्वीचोक हुँदै पुनः सिर्जनाचोकमै पुगेर ५ किलोमिटर दूरी पूरा गर्नेछन्। प्रतियोगितामा १६ वर्षभन्दा माथिका महिला तथा पुरुष सहभागी हुन सक्नेछन्। महिला र पुरुष दुवै विधाका विजेतालाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रथम हुनेले ७ हजार ५ सय रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ तथा तृतीयले २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै प्रतियोगितामा सहभागी सबैलाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ भने ४० वर्षभन्दा माथिका धावकहरूलाई विशेष प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। इच्छुक सहभागीले प्रत्यक्ष तथा अनलाइन दुवै माध्यमबाट नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष यामबी आस्था मगरले प्रतियोगिता सफल बनाउन संस्थागत सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। प्रतियोगिताका प्राविधिक संयोजक ओम गुरुङले दौड सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी तीव्र पारिएको जानकारी दिए। आयोजकका अनुसार प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र नभई श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको आवाज समाजसम्म पु¥याउने र समावेशी सोच प्रवर्द्धन गर्ने अभियानका रूपमा सञ्चालन गरिनेछ।





