
पोखरा, जेठ २९,
पोखराको मासवारस्थित मदरल्याण्ड माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमबीच स्वागत गर्दै अभिमुखिकरण पनि आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
मदरल्याण्डमा यो पटक कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये एसइइमा जिपिए ४ अंक ल्याएका २५ जना विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले उद्घाटन गरेका थिए । ज्ञवालीले उक्त अवसरमा विद्यार्थीले परीक्षामा अंक ल्याउनेमा मात्र ध्यान दिनुभन्दा अंकसँगै सीप विकास गर्न सुझाव पनि दिए । ‘अबको समयमा स्कोर मात्र ठूलो होईन, स्कील पनि उत्तिकै जरुरी छ,’ ज्ञवालीले भने, ‘सकारात्मक सोचेर त्यही अनुसार व्यवहारमा ढाल्न सकेको खण्डमा स्कोर पनि अवश्य राम्रो आउँछ ।’ उनले युवापुस्ताका अहिलेका विद्यार्थीले सकारात्मक कुरामा बढि ध्यान दिनुपर्ने पनि बताए ।
कक्षा ११ मा अहिले भर्ना भएका ती विद्यार्थीले अहिले देखि नै सुन्दर भविश्यको कल्पना गनुपर्ने उनले बताए । जिन्दगीमा सम्भावनातिर हेरेमा सफल बन्न सकिने उनको भनाई छ । ‘हामीले नहुने भन्दा हुने कुरामा मात्र जोड दिनुपर्छ । पछिल्लो पुस्ता हुने भन्दा नहुने कुरामा बढि जोडबल गर्छ,’ उनले भने, ‘नभइ नहुने कुरामा मात्र बल गर्ने हो । नत्र सामान्य कुरामा जोडबल गर्नुपर्दैन ।’ विद्यार्थीलाई सुझाउँदै ज्ञवालीले कुनै पनि काम गर्न सकिँदैन भनेर कहिल्यै हार मान्न नहुने बताए । विभिन्न चर्चित व्यक्तिले प्राप्त गरेको सफलताबारे उदाहरण पस्कँदै सिइओ ज्ञवालीले सानातिना कुरामा हार मान्न नहुने बताए । ‘कुनै पनि काम गर्न सकिन्न भनेर कहिल्यै नभन्नु । काम गर्न सकिन्न भनेर हार मान्नु पनि हुँदैन,’ उनले भने, ‘पछिल्लो पुस्ता तुलनात्मक रुपमा केही फरक पनि छ । निरन्तरको मेहनतले सफलता हात दिलाउँछ ।’ विद्यार्थीले कुनैपनि विषय अध्ययन गरेपनि गतिलो असर पाउन सक्ने आधार रहेको उनले बताए । जहाँ गएपनि अहिले विद्यार्थीका लागि अवसरै अवसर रहेको उनको भनाई छ । ‘व्यवस्थापन विषय पढे भनेर आफुलाई कमजोर ठान्नु हुँदैन, व्यवस्थापन विषयको काम जहाँ आग्लाइछ,’ उनले भने, ‘व्यवस्थापन विषय पढ्दैमा व्यवसाय मात्र गर्नुपर्छ भन्ने होईन । विद्यालय, अस्पताल, होटल, बैंकवित्तीय संस्थादेखि पसलसम्म व्यवस्थापन विषय अध्ययन गरेका विद्यार्थीका लागि अवसर छ । यतिसम्मकी पशुपतिनाथमा भेटी चढाउँदा पनि अहिले बैंकको क्यूआर प्रयोग हुन्छ । भगवानलाई पनि व्यवस्थापनकै जनशक्ति चाहिन थालेको छ ।’
विज्ञानमा झनै बढि अवसर रहेको उनले बताए । प्रविधिको क्षेत्रमा जाने की कता भन्ने कुनै निश्चित क्षेत्र नतोकिएकोले विज्ञान विषयले सबैका लागि ढोका खोल्ने उनको भनाई छ । त्यही भएर विद्यार्थीले देख्ने सपनाको दायरा अझै फराकिलो बनाउनुपर्ने उनले बताए । पछिल्लो पुस्ताका विद्यार्थीहरुले अभिभावक र शिक्षकप्रति केही चित्त दुखाउने गरेको भन्दै ज्ञवालीले भने, ‘शिक्षकसँग पर्याप्त अन्तरक्रिया गरौैं, शिक्षक र अभिभावकले भनेको कुरामा साह्रै चित्त नदुखाउनु, किनकी उहाँहरुको सुझाव गलत हुँदैन । आफु पनि दैलखदेखि आएर निकै नै ठूलो मेहतन गरेर अहिलेको अवस्थामा पुग्न सकेकोले सफलताका लागि मेहनत अनिवार्य सर्त रहेको ज्ञवालीको भनाई छ । विद्यालयका प्राचार्य डा. नारायण बरालले सफल नागरिक बन्नका लागि अबको पुस्ताले ध्यान दिनुपर्ने बताए । ‘जीवनमा सफल हुने उद्देश्य लिएर अघि बढ्नुपर्छ,’ डा. बरालले भने, ‘असल नागरिक बनेर अबको पुस्ताले देखाउनुपर्छ । जीवनोपयोगी सीप सिकेर त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ ।’ प्राचार्य बरालले कुनैपनि विषयमा सफलता हात पार्न उत्तिकै मेहनत जरुरी रहेको बताए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीको अबको दुइवर्ष निकै नै महत्वपूर्ण हुने बताए । ‘दुइवर्ष गरेको मेहनतले भविश्य उज्जवल हुन्छ । उपयुक्त विषय छनोट गर्दा पनि बेलैमा ध्यान दिनुपर्छ,’ उनले भने । स्वागत र उत्प्रेरणामुलक उक्त कार्यक्रममा विद्यार्थीले नवआगन्तुक विद्यार्थीका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि पस्केका थिए ।





