सरकार र नेपाल चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, बिहीबारबाट देशभर अस्पतालका नियमित सेवा पुनः सुचारु हुने

-


     पोखरा क्लिक     
     श्रावण १४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, साउन १३,

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बिहीबारदेखि देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा आकस्मिकसहित सबै नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि पाँच बुँदे सहमति भएको जनाएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै नियमित सेवामा फर्कने निर्णय गरेको जनाएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामसहित स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन घोषणा गरेको थियो। त्यसअनुसार मंगलबार र बुधबार पोखरासहित देशभरका अधिकांश अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा अन्य गैरआकस्मिक सेवा पूर्ण रूपमा प्रभावित भएका थिए।

पोखरा तथा कास्कीका सरकारी, सामुदायिक र निजी अस्पतालमा सेवा बन्द हुँदा हजारौँ सेवाग्राही प्रत्यक्ष प्रभावित भएका थिए। विशेषगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगायत गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्माश्री अस्पताल, साहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा शिक्षण अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु अस्पताल र मेडि प्लस अस्पताललगायतका स्वास्थ्य संस्थामा ओपीडी सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामी निराश भएर फर्किन बाध्य भएका थिए। नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. सुनिल पनेरुले नारायणी अस्पताल घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन गरिएको अबस्थामा संघ केन्द्रको निर्देशन अनुसार भोलिदेखि अस्पतालको सबै सेवा पुनः सुचारु हुने बताउनु भयो ।

बुधबार सरकार र चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्। सहमतिअनुसार घटनामा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालाई प्रभावकारी बनाइने तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत र प्रशासनिक व्यवस्था गर्ने विषयमा सरकार प्रतिबद्ध भएको जनाइएको छ। मंगलबार र बुधार दुई दिनदेखि प्रभावित स्वास्थ्य सेवा बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। आन्दोलनका कारण उपचारबाट वञ्चित भएका बिरामीले पनि अब नियमित रूपमा अस्पतालबाट सेवा पाउने भएका छन्।फोटो आईजेनेरेटेड