ओम शान्तीको पार्दी शाखामा गुरु पूर्णिमा विशेष सम्मान तथा रूपान्तरणकारी शिविर

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १३, साउन,

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालद्वारा आयोजित गुरु पूर्णिमा विशेष सम्मान तथा ‘रूपान्तरणकारी शिविर (रि–इग्नाइट प्रशिक्षक सम्मेलन)’ कार्यक्रम आज (बुधबार) पोखराको पार्दी शाखामा सम्पन्न भएको छ । ‘आत्म–साक्षात्कार र प्रेमपूर्ण सम्बन्ध, आफ्नो उद्देश्यलाई पुनः जागृत गरौँ, प्रेरित, सशक्त र रूपान्तरित बनौँ’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जीवन क्षण भरमै भंग हुने भएकाले ज्ञान, ध्यान र सकारात्मक कर्मलाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानिसले जीवनमा केही सिक्न, केही बुझ्न र समाजका लागि केही योगदान गर्नुपर्ने उल्लेख गर्दै आध्यात्मिक ज्ञानले मानिसलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्ने धारणा राख्नुभयो। मन्त्री पाण्डेले जीवनलाई सार्थक बनाउन आत्मचिन्तन, सेवा र नैतिक आचरण अपरिहार्य रहेको बताउनुभयो ।

एकाग्र भएर ध्यानमग्न भई प्रत्येक कार्य इमानदारी र समर्पणका साथ सम्पन्न गर्न सके हरेक व्यक्ति अरूका लागि प्रेरणाको स्रोत र मार्गदर्शक बन्न सक्ने उहाँको भनाई थियो । परमात्माप्रतिको आस्था, सकारात्मक भावना र स्मरणले जीवनमा शान्ति, आत्मविश्वास तथा सफलताको ऊर्जा प्रदान गर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षक, सहजकर्ता तथा सामाजिक रूपान्तरणका संवाहकहरूलाई आध्यात्मिक ज्ञान, राजयोग साधना र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

गुरु पूर्णिमाको अवसरमा विभिन्न क्षेत्रबाट आध्यात्मिक, सामाजिक तथा मानवीय सेवामा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङ, रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी नवीन दाहाल, शसस्त्र प्रहरीका एसपी अरुण पौडेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमार शिशिरले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले आध्यात्मिक चेतना, आत्मअनुशासन र राजयोग साधनामार्फत व्यक्तिगत तथा सामाजिक रूपान्तरण सम्भव रहेको विश्वास व्यक्त गर्नु भएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पार्दीका प्रमुख अप्सरा दिदीले बताउनु भयो ।



This will close in 20 seconds