
दीननाथ बराल,
पोखरा, साउन १२,
पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो ।
उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक फोहोर, अखाद्य फलफूलको प्रयोग तथा व्यवसाय सञ्चालन सम्बन्धी आवश्यक कागजात समेत नराखिएको भेटिएपछि उक्त कारबाही गरिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका करिब १२ किलोग्राम स्याउ, केरा, मौसम, आँप, अनार र मेवा बरामद गरिएको थियो । करिब ३ हजार ४ सय ७० रुपैयाँ बराबर मूल्यका ती सबै कुहिएका तथा अखाद्य फलफूल तत्काल नष्ट गरिएको सहायक प्रजिअ बरालले जनाउनु भयो ।
त्यसैगरी, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलसम्बन्धी प्रमाणपत्र लगायतका आवश्यक कागजातसमेत उपलब्ध गराउन नसकेको र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको भेटिए पछि प्रचलित कानूनबमोजिम फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनु भयो । सहायक प्रजिअ बरालले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायमा कुनै पनि लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । “बजार अनुगमनलाई हामीले निरन्तरता दिएका छौँ। जनताबाट प्राप्त हुने जनगुनासोका आधारमा नियमित रूपमा बजार अनुगमन गर्दै जानेछौँ। अनुगमनका क्रममा कानूनविपरीत गतिविधि वा कैफियत भेटिएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गर्न हामी बाध्य हुनेछौँ,“ सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो।
अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, सञ्चारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमनपछि प्रशासनले व्यवसायीलाई पसल तथा जुस बनाउन प्रयोग हुने सामग्री नियमित रूपमा सफा राख्न, व्यवसाय दर्ता तथा नापतौलसम्बन्धी प्रमाणपत्र समयमै नवीकरण गर्न, सबै कानुनी कागजात ग्राहकले देख्ने स्थानमा राख्न, प्रयोग गर्न नमिल्ने फलफूल सुरक्षित रूपमा छुट्टै व्यवस्थापन गरी नष्ट गर्न तथा जुसमा कुनै पनि प्रकारका अखाद्य रङ वा फ्लेवर प्रयोग नगर्न निर्देशन दिएको छ ।
यस्तै, ग्राहकलाई सेवा दिएपछि अनिवार्य रूपमा बिल उपलब्ध गराउन तथा खरिद–बिक्रीका बिल तथा बिजक सुरक्षित राखेर अनुगमनका क्रममा माग भए तुरुन्त प्रस्तुत गर्न पनि निर्देशन दिइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।




