
पोखरा, २९ जेठ,
कास्की प्रहरीले आर्थिक अपराध, चोरी–डकैती, लागूऔषध कारोबार र फरार अपराधीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हासिल गरेको छ। जेठ महिनामा मात्रै विभिन्न प्रकृतिका २०६ मुद्दा दर्ता गर्दै प्रहरीले ६५ जना फरार प्रतिवादी पक्राउ गर्नुका साथै करोडौँ रुपैयाँ बराबरको चोरी भएको धनमाल, नगद तथा लागूऔषध बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नविन कार्कीले जिल्लाको शान्ति सुरक्षा, आर्थिक अपराध नियन्त्रण तथा संगठित आपराधिक गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कारबाहीलाई तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार जेठ महिनामा दर्ता भएका २०६ मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ६६ वटा मुद्दा रहेका छन्। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् भने सहकारी ठगीसम्बन्धी एउटा मुद्दामाथि अनुसन्धान जारी रहेको छ।
सुन चोरीदेखि संगठित गिरोहसम्म पक्राउ
प्रहरीले पछिल्लो समय जिल्लामा भएका चर्चित चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफलता हासिल गरेको जनाएको छ। पोखरा–१८ खपौदीस्थित एक घरबाट पाँच तोला सुन, भारतीय रुपैयाँ तथा अन्य धनमाल चोरी भएको घटनामा संलग्न २७ वर्षीय साजन सुनारलाई प्रहरीले पक्राउ गरेको छ। चोरीको सुन खरिद गरेको आरोपमा पोखरा सृजनाचोकस्थित सुनचाँदी व्यवसायी ५६ वर्षीय नारायणलाल विक पनि पक्राउ परेका छन्। प्रहरीले चोरी भएका सामानसमेत बरामद गरेको जनाएको छ।
त्यसैगरी न्यूरोड प्रगतिटोलस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोरी गर्ने पाँच सदस्यीय गिरोहलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको छ। घटनाका मुख्य योजनाकार मानिएका सागर भन्ने सन्तोष लामिछाने र राजेन्द्र परियार पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने अन्य तीन जनामाथि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
६५ फरार प्रतिवादी पक्राउ, ९० लाखभन्दा बढी जरिवाना असुल
कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ पुरुष र ३१ महिला रहेका छन्। उहाँका अनुसार पक्राउ परेकाहरूबाट १४ वर्ष ४ महिना २९ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिनुका साथै ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गरिएको छ। फरार प्रतिवादीमध्ये सबैभन्दा बढी चेक अनादरका २३ जना र चोरी मुद्दाका १८ जना रहेका छन्।
लेकसाइडमा विदेशी नागरिकको आपराधिक गतिविधि
पर्यटकीय क्षेत्र लेकसाइडमा आपराधिक गतिविधिमा संलग्न पाँच जना युगान्डाका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उहाँका अनुसार दुई जना विदेशी नागरिकले एक नेपाली नागरिकको नगद र कागजात रहेको पर्स चोरी गरेको आरोपमा पक्राउ परेका छन्। अन्य तीन जनालाई अत्यधिक मदिरा सेवन गरी होहल्ला गर्नुका साथै प्रहरीमाथि दुर्व्यवहार गर्न खोजेको आरोपमा नियन्त्रणमा लिइएको छ।
लागूऔषध कारोबारविरुद्ध ठूलो सफलता
जेठ महिनामा मात्रै लागूऔषध सम्बन्धी १४ वटा मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा १८ पुरुष र २ महिला रहेका छन्। यस अवधिमा प्रहरीले ३९ हजार ८ सय ९९ ट्याब्लेट ट्रामाडोल तथा टापेन्टाडोल, १ हजार थान एलएसडी स्टिकर र ८ केजीभन्दा बढी गाँजा बरामद गरेको छ।
सबैभन्दा चर्चित घटनामध्ये नेदरल्यान्ड्सबाट हुलाकमार्फत पठाइएको प्रतिबन्धित एलएसडी स्टिकर बुझ्न खोज्ने भारतीय नागरिक २८ वर्षीय आयुस अजितलाई प्रहरीले पक्राउ गरेको छ। उहाँको साथबाट ७ लाख ४० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ। त्यसैगरी पोखरा महानगरपालिका–२७ तालचोकमा डेरा गरी बस्ने २२ वर्षीया रुबिना खातुनको कोठाबाट ३१ दशमलव २ ग्राम खैरो हिरोइन तथा ११ लाख ४८ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। पर्स्याङ क्षेत्रमा गरिएको अर्को कारबाहीमा २९ वर्षीय मनिष शाही ठकुरीको कोठाबाट ३८ हजार ३ सय ४० चक्की टापेन्टाडोल तथा नगद बरामद भएको छ।
फुटपाथ अतिक्रमण र अवैध उत्खननमा पनि कारबाही
प्रहरीले पोखराका मुख्य बजार क्षेत्रहरूमा पैदल यात्रु र अपाङ्गता भएका व्यक्तिको आवतजावतमा अवरोध पुर्याउने गरी जथाभावी पार्किङ गरिएका १ हजार ६० वटा सवारीसाधनलाई कारबाही गरेको जनाएको छ। त्यसैगरी विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी निकासीमा संलग्न १४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर २ लाख २९ हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रहरी उपरीक्षक कार्कीले अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि नागरिक, स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो। “अपराधविरुद्धको अभियान निरन्तर जारी रहनेछ,” उहाँले भन्नुभयो, “सुरक्षित कास्की निर्माणका लागि प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ।”






