नवलपुरको भिमसेन माविलाई गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताकोे उपाधि

-


     पोखरा क्लिक     
     जेठ २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २५, जेठ,

नवलपुरको भिमसेन आदर्श माध्यमिक विद्यालयले गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि चुमेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा नवलपुरको भिमसेन आदर्शले स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको भिमसेन आदर्श माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रनको योगफल जोड्न सफल भयो । खेलमा भिमसेनका पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रनको योगदान दिनुभएको संघले पोखराक्लिकलाई जनाएको छ । उहाँ प्लेयर अफ द म्याचको उपाधि समेत आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । शैलेश काफ्लेले अविजित ३० रन तथा सुशील भुसालले २० रनको योगदान दिदा स्याङजाको भगवती माध्यमिक विद्यालयका सपनाल भट्टराईले २ विकेट लिनुभयो ।

१६५ रनको लक्ष्य पाएकोे भगवती माध्यमिक विद्यालयको ब्याटिङ सुरुदेखि नै दबाबमा खेल्नु पर्यो । निर्धारित २० ओभरको खेलमा एक ओभर बाँकी छदै ९६ रनमै अलआउट हुनु पर्यो । खेलमा भगवतीका भुवन डुम्रेले सर्वाधिक ४९ रनको योगदान दिनुभयो । भिमसेन आदर्शका आयन भुर्तेलले ४ विकेट लिनुभयो । सुशील भुसाल र शैलेश काफ्लेले समान २–२ विकेट लिनुभयो । विजयी टिम तथा खेलाडीहरुलाई प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । च्याम्पियन नवलपुरको भिमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको हो । जेठ २२ गतेदेखि संचालन भएको प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको बलियो आधार निर्माण गर्दै ग्रामीण तथा ग्रासरुट स्तरका प्रतिभाको खोजी, विकास र प्रोत्साहनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको सिग्देलले जनाए । यसैबिच, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले विजेता टोलीलाई आफ्नो कार्यकक्षमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।