
पोखरा,
नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । हालै कास्कीमा सम्पन्न भएको संघको अधिवेशनले सुशीलकुमार गुरुङको अध्यक्षमा निर्वाचित गरेको निर्वाचन समिति संयोजक शिवराज पहारीले जानकारी दिनुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनील श्रेष्ठ, उपाध्यक्षमा पुरुषोत्तम पौडेल, सचिवमा केशव पराजुली, सहसचिवमा दिलीप केसी तथा कोषाध्यक्षमा तारानाथ आचार्य निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा अर्जुन गिरी, विनोद केसी, आस्विन ढुङ्गाना, सुदीप कंडेल र जीवन खत्री निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक पहारीले बताउनुभयो। नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा संघका सदस्यहरूले मोबाइल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायीमैत्री बनाउने विषयमा छलफल गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण तथा प्रविधिमैत्री व्यापार प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको सञ्चालन संघका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठले गर्नुभएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई व्यवसायीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।निर्वाचित अध्यक्ष गुरुङले संघप्रति व्यवसायीहरूको विश्वासलाई सम्मान गर्दै गण्डकी प्रदेशका मोबाइल वितरक तथा व्यवसायीहरूको हकहितका लागि समन्वयात्मक र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यवसायमा देखिएका चुनौती समाधान, व्यवसायिक वातावरण सुदृढीकरण तथा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गरिने बताउनुभयो।




