
पोखरा, २० जेठ,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास (Adrian Lukasz) सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ ।

लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको छ । निरीक्षण पश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ । भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको बताउनुभयो ।
“हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण ग¥यौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबिच दैनिक उडान सुरु गर्न इच्छुक छौँ” लुकासले भन्नुभयो । भाइस प्रेसिडेन्ट लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यले खेल्नुभएको समन्वयकारी भूमिका र निरन्तरको पहलकदमीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो । फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी ९सिस्टर० एयरलाइन्स हो। । फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोडिनेछ । यसबाट पोखरा संसारका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ । जसले गर्दा युरोप, अमेरिका, र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन् ।
यस उडानलाई मूर्त रूप दिनका लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज (गनेस) पौडेल, फ्लाई दुबई एयरलाइन्स कम्पनीका उच्च अधिकारीहरू र उक्त कम्पनीका नेपाली प्रतिनिधिहरू सहित पोखरा महानगरका प्रमुख आचार्यको उपस्थितिमा पटक–पटक उच्च स्तरीय बैठकहरू सम्पन्न भइसकेका छन् । लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टा लामो प्राविधिक निरीक्षण र सरोकारवालाहरू बिचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
पोखरा महानगरका प्रमुख आचार्यले फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताउनुभयो । पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसे ढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गर्नुभयो । यो उडान सुचारु भएमा गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ । पोखराबाट नियमित अन्तराष्ट्रिय हवाई उडान हुन नसेको अबस्थामा फ्लाई दुइइले देखाएको यच्छाले आफुहरु निकै उत्साहित भएको बताउदै पोखरा भ्रमण बर्षका संयोजक गोपी बहादुर भट्टराईले केही समय अन्तराष्ट्रिय एयरलायन्स कम्पनीहरुलाई केही सहुलियत दिन आग्रह गर्नुभयो ।





