
पोखरा,
नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का लागि प्रतिभा खोज अभियानअन्तर्गत भोलि (मंगलबार) पोखरामा प्रदेशस्तरीय अडिसन हुने भएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले देशका विभिन्न शहरमा पुगेर नयाँ अनुहार तथा प्रतिभाशाली युवतीहरूको खोजी गर्ने अभियानअन्तर्गत गण्डकी प्रदेशको राजधानि पोखरामा अडिसन गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरा छनोटबाट उत्कृष्ट प्रतिस्पर्धीहरूलाई काठमाडौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले जानकारी दिए । यस वर्षको प्रतियोगिताका लागि आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ तोकिएको छ भने ग्रान्ड फिनाले आगामी भदौं १६ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजना हुनेछ। प्रतियोगिताबाट ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल कोस्मो’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन प्रमुख विजेताको घोषणा गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने युवतीको उमेर १८ देखि २७ वर्षभित्र र न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने मापदण्ड तय गरिएको छ। नेपाली नागरिकता प्राप्त युवतीहरूका साथै विदेशमा बसोबास गर्ने तथा गैरआवासीय नेपाली (एनआरएन) कार्ड प्राप्त नेपाली युवतीहरूले समेत निःशुल्क आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सहभागीहरूले मिस नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। अन्तिम चरणमा छनोट हुने प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास, सञ्चार कला, प्रस्तुति तथा अन्य आवश्यक विषयमा विशेष प्रशिक्षण र ग्रुमिङ प्रदान गरिने आयोजकको भनाइ छ। यसअघि नेपालगञ्ज, इटहरी र बिर्तामोडमा अडिसन सम्पन्न गरिसकेको आयोजक टोलीले पोखरापछि बुटवल, जनकपुर र काठमाडौंमा पनि अडिसन सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ। काठमाडौंका विभिन्न १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन’ अभियान सञ्चालन गरिने र अन्तिम अडिसन जेठ २६ गते राजधानीमा हुने जनाइएको छ।
पोखरा अडिसनको स्थानीय समन्वय पोखरा जेसीजले गरिरहेको छ। अडिसन संयोजक रविन्द्र गोदारले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरिएको बताए। गत वर्ष सम्पन्न ‘मिस नेपाल २०२५’ मा लुना लुइँटेलले उपाधि जितेकी थिइन्। यसपटक पनि नयाँ पुस्ताका प्रतिभाशाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यसहित प्रतियोगिता अघि बढाइएको आयोजकले जनाएको छ।





