पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदान प्रदानका लागि सहकार्य प्रस्ताव

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाल र भारतबीच रहँदै आएको पुरानो सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन व्यवसायसँग जोड्दै पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदानप्रदानका लागि सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायीले प्रस्ताव गरेका छन्। दुवै क्षेत्रका पर्यटन व्यवसायीबीच सहकार्य र समझदारी कायम गरी एकअर्काको गन्तव्यमा पर्यटक पठाउन सके पर्यटन व्यवसायबाट दुवै पक्षले लाभ लिन सक्ने उनीहरूको भनाइ छ।

गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेको पहलमा पोखरा आएका उत्तरपूर्वी भारतीय पर्यटन महासंघ (ईस्ट इन्डियन टुरिस्ट कन्फडरेसन–एनईआईटीसी) का २४ जना प्रतिनिधिसँग शुक्रबार पोखरामा सामूहिक छलफल गरिएको थियो। भारतको उत्तराखण्ड, अरुणाञ्चल प्रदेश, सिक्किम, असम, गुवाहाटी, दार्जिलिङ तथा मणिपुरलगायत क्षेत्रका टुर अपरेटर सहभागी छलफलमा पोखरेली पर्यटन व्यवसायीले दुवै क्षेत्रबीच पर्यटक आदानप्रदानका लागि सहकार्य सम्झौता (एमओयू) गर्नेसम्मको प्रस्ताव गरेका हुन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा र उत्तरपूर्वी भारतबीच भौगोलिक तथा सांस्कृतिक समानता रहेकाले पर्यटनमा सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो। “नेपालमा पनि शक्तिपीठ छन्, भारतमा पनि शक्तिपीठ छन्,” उहाँले भन्नुभयो, “यी दुई देशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटनमा सहकार्य गरौँ। आवश्यक परे सहकार्य सम्झौता (एमओयू) नै गरेर अघि बढौँ।” पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेकाले अब भारतीय सहरसँग समेत हवाई सञ्जाल जोड्न पहल गर्नुपर्ने उहाँको भनाइ थियो। भारतीय टुर अपरेटरलाई यसका लागि पहल गर्न आग्रह गर्दै भुजेलले पोखरा–दुबई हवाई सम्पर्कलाई आधार बनाएर उत्तरपूर्वी भारतका सहरसँग समेत हवाई कनेक्टिभिटी विस्तार गर्न सके दुवै पक्षलाई लाभ हुने बताउनुभयो।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा उत्तरपूर्वी भारतका टुर अपरेटरसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। पछिल्लो अवस्थालाई ध्यानमा राख्दै नेपालका अधिकांश पर्यटकीय गन्तव्य आवतजावतका लागि खुला रहेको जानकारी दिँदै उहाँले केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण समस्या रहेको बताउनुभयो। “पोखरा खुला छ, सुरक्षित छ,” सुवेदीले भन्नुभयो, “नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ। अब यही सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत अझ बलियो बनाऔँ।” नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशकी अध्यक्ष संगीता पौडेलले उत्तरपूर्वी भारतीय पर्यटन व्यवसायीसँगको सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने बताउनुभयो। “पर्यटनको राजधानी पोखरालाई सम्झेर आउनुभएकोमा धन्यवाद छ,” उहाँले भन्नुभयो, “आउनुस्, पर्यटनमा सँगै मिलेर काम गरौँ।” उत्तरपूर्वी भारतीय पर्यटन महासंघका अध्यक्ष छिरिङ वाङ्गेले पोखराको प्राकृतिक सौन्दर्य र आतिथ्यताले आफूहरू प्रभावित भएको बताउनुभयो। पोखरासँग पर्यटन क्षेत्रमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै उहाँले उत्तरपूर्वी भारतबाट नेपालमा थप पर्यटक पठाउन तयार रहेको बताउनुभयो।

“तपाईंहरूलाई जस्तै हामीलाई पनि पोखरासँग सहकार्य गर्न मन छ,” वाङ्गेले भन्नुभयो, “हामी बढीभन्दा बढी पर्यटक पठाउन तयार छौँ, यताबाट पनि तपाईंहरूले पर्यटक पठाउनुहोला।” पाँच पटक सगरमाथा आरोहण गरिसक्नुभएकी तथा गिनिज वल्र्ड रेकर्डसमेत कायम गर्नुभएकी डा। अंशु जम्सेन्पाले पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एकका रूपमा आफूले पाएको बताउनुभयो। पोखरेली पर्यटन व्यवसायीले दिएको आतिथ्यताको प्रशंसा गर्दै उहाँले पोखराको हस्पिटालिटीबाट आफू प्रभावित भएको बताउनुभयो। कार्यक्रमका क्रममा पाँच पटक सगरमाथा आरोहण गर्नुभएकी डा। अंशु जम्सेन्पालाई पोखरेली पर्यटन व्यवसायीका तर्फबाट सम्मान गरिएको थियो। साथै उत्तरपूर्वी भारतबाट आएका अन्य टुर अपरेटरलाई समेत मायाको चिनो प्रदान गरिएको होटल संघ पोखराका कोषाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो। नेपाल र भारतबीचको लामो समयदेखिको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन व्यवसायसँग जोड्दै पर्यटक आदानप्रदान, गन्तव्य प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमा सहकार्य गर्न सके पोखरा र उत्तरपूर्वी भारतबीचको पर्यटन सम्बन्ध थप विस्तार हुने व्यवसायीहरूको विश्वास छ।