
दीननाथ बराल,
पोखरा २०, साउन,
नेपालमै इजरायलको आधुनिक कृषि प्रविधि भित्र्याउने तथा पर्यटन, प्रविधि, रोजगारी र प्राविधिक ज्ञान आदान–प्रदानलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरा महानगरपालिका र इजरायल बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग आज शिष्टाचार भेट गर्दै दुवै पक्षका साझा हितका विविध विषयमा विस्तृत संवाद गर्नु भएको हो ।
भेटका क्रममा मेयर आचार्यले पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग संस्थागत सहकार्य आवश्यक रहेको बताउँदै आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी र प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा साझेदारी विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले यस्तो सहकार्यले पोखरामात्र नभई समग्र नेपालको कृषि तथा आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूतले इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम मार्फत इजरायल पुगेका नेपाली युवाले आधुनिक कृषि प्रणाली, प्रविधि र व्यवस्थापनमा उल्लेखनीय अनुभव हासिल गरिरहेको उल्लेख गर्दै इजरायलको प्रविधिमैत्री कृषि प्रणाली नेपालका लागि पनि उपयोगी हुन सक्ने धारणा राख्नुभयो । उहाँले आगामी दिनमा कृषि क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको संकेत गर्नुभयो । भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने, पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने तथा भविष्यमा पोखरा–इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे समेत सकारात्मक छलफल भएको थियो । दुवै पक्षबीच प्राविधिक सहकार्य, क्षमता विकास र पारस्परिक हितका अन्य विषयमा समेत विचार आदान–प्रदान भएको थियो । भेटमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी तथा महानगरको वैदेशिक विभाग समन्वय प्रमुख सुवास ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।





