हिमालय एअरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्ने तयारी

-


     पोखरा क्लिक     
     जेठ १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, जेठ १८,

चर्चीत एयरलायन्स हिमालय एअरलाइन्सले आगामी जुन ४, २०२६ ९जेठ २१, २०८३० देखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनबीच पहिलो पटक सिधा हवाई सम्पर्क स्थापना हुन लागेको एअरलाइन्सले पोखराक्लिकलाई जनाएको छ।

कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई उडान सञ्चालन गरिनेछ। काठमाडौंबाट उडान प्रत्येक मंगलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिनेछ। हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थप्दै चीनसँगको हवाई सम्पर्क विस्तार गर्ने रणनीतिअनुसार शेन्जेन उडान सुरु गरिएको बताए। उनका अनुसार यस सेवाले नेपाल र चीनका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

एअरलाइन्सले यात्रुहरूलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नयाँ उडानले दुवै देशका यात्रुहरूका लागि थप यात्रा विकल्प उपलब्ध गराउने जनाएको छ। सन् २०१४ मा स्थापना भएको नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्ससँग हाल चारवटा एयरबस विमान छन्। कम्पनीले हाल संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ।



This will close in 20 seconds