विश्व खाद्य स्वच्छता दिवसः पोखरामा साताव्यापी सचेतना तथा अनुगमन कार्यक्रम सञ्चालन हुने

-


     पोखरा क्लिक     
     जेठ १८ गते २०८३ मा प्रकाशित


पोखरा, जेठ १८,

“खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा ले विश्व खाद्य स्वच्छता दिवस २०८३ साताव्यापी कार्यक्रम सहित मनाउने भएको छ। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, अनुगमनात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले खाद्य स्वच्छता प्रवर्द्धन, सुरक्षित खाद्य उपभोगको सुनिश्चितता तथा उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी कार्यक्रम तय गरिएको बताउनुभयो। उहाँका अनुसार पहिलो दिन कार्यालय परिसर तथा प्रयोगशाला सरसफाइ, ब्यानर प्रदर्शन र प्रेस विज्ञप्ति प्रकाशन गरिनेछ। त्यसपछि जेठ १९ देखि २३ गतेसम्म बजार, होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगहरूको अनुगमन, विद्यालयस्तरीय सचेतना कार्यक्रम तथा सुरक्षित खानेपानीसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ। जेठ २४ गते विशेष समारोहका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइने तयारी गरिएको छ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले खाद्य स्वच्छता कायम राख्न स्थानीय तह, नियामक निकाय, व्यवसायी र उपभोक्ताबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै प्रभावकारी अनुगमन संयन्त्र र उपभोक्ता अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले खाद्य वस्तुमा हुने मिसावट, अखाद्य रङको प्रयोग तथा अनुचित उत्पादन प्रविधिका कारण जनस्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। यस्ता गतिविधि नियन्त्रणका लागि कार्यालयले नियमित अनुगमन, कडा नियमन र सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

कार्यक्रममा कार्यालयका सूचना अधिकारी शिवजी बराल ले विश्व स्वास्थ्य संगठन का अनुसार असुरक्षित खानाका कारण विश्वभर हरेक वर्ष लाखौं मानिस विभिन्न खाद्यजन्य रोगबाट प्रभावित हुने गरेको जानकारी दिनुभयो। यस वर्षको नाराले असुरक्षित खानाबाट हुने जोखिम न्यूनीकरणका लागि तथ्यमा आधारित, लक्षित र किफायती उपाय अपनाउनुपर्ने सन्देश दिएको उहाँको भनाइ थियो। कार्यक्रमको समापन गर्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले खाद्य सुरक्षा र स्वच्छता जस्तो संवेदनशील विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आमनागरिक, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले सबै पक्षको साझा प्रतिबद्धता, सहभागिता र जिम्मेवारीबाट मात्रै स्वस्थ, सुरक्षित र समृद्ध समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।