
दीननाथ बराल,
पोखरा २५, चैत,
प्राविधिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा “पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप” आयोजना हुने भएको छ । प्रतियोगिता यही चैत २७ गते पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा सञ्चालन गरिने आयोजकले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो ।
संस्थापक अध्यक्ष विजय पौडेलले प्रतियोगिता बिहान ७ बजेदेखि सुरु भई राति ९ बजेसम्म चार चरणमा सञ्चालन हुने बताउनु भयो । प्रतियोगितामा देशका विभिन्न शहर—काठमाडौं, बुटवल, चितवन, इटहरी र पोखरा—बाट सहभागी भएका ६७ जनामध्ये उत्कृष्ट ३७ जना अन्तिम चरणका लागि छनोट हुनु भएको उहाँले जनाउनु भयो ।
यस च्याम्पियनसिपले नेपाली बारटेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षता उजागर गर्ने लक्ष्य राखेको छ । बारटेन्डिङ पेशामा ककटेल तथा मकटेल तयार गर्दा तितोपन, अमिलोपन र गुलियोपनको सन्तुलन मिलाउने सीपसँगै बोतल घुमाउने (फ्लेयर) कला प्रदर्शन गरिन्छ, जसले ग्राहकलाई आकर्षित गर्ने महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ नगदसहित प्याराग्लाइडिङ, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, तृतीय र चतुर्थ हुनेले क्रमशः १५ हजार र ५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट ककटेलतर्फ ५ हजार रुपैयाँसहित बन्जी जम्प, ट्रफी तथा अन्य पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट फ्लेयर कलाकारलाई पनि समान पुरस्कार प्रदान गरिनेछ। अन्य सहभागीलाई मायाको चिनो तथा सहभागिता प्रमाणपत्र दिइनेछ ।
प्रतियोगितामा एजुकेसन पार्टनरका रूपमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज रहेको छ । उक्त कलेजले अस्ट्रेलियन सरकारबाट मान्यता प्राप्त दुई वर्षे होटल म्यानेजमेन्ट तथा ६ महिने कुलिनरी आट्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका अनुसार हालसम्म करिब ३८ हजार जनालाई तालिम प्रदान गरिसकिएको छ, जसका अधिकांश विद्यार्थी स्वदेश तथा विदेशका पाँचतारे होटल तथा बार–रेस्टुरेन्टमा कार्यरत छन्। कार्यक्रम संयोजक निश्चल देवकोटाका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । च्याम्पियनसिपले नेपाली बारटेन्डरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने तथा व्यावसायिक तालिमलाई रोजगारीसँग जोड्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।




