
होटल व्यवसायी महासङ्घ नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा तथा ५ औँ महाधिवेशन यही चैत २७ र २८ गते पोखरामा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घले देशभरका होटल व्यवसायीहरूलाई पोखरामा भेला हुन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेका अनुसार महाधिवेशनमा देशभरबाट करिब १०० सङ्घका ५०० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुनेछन्। यससँगै देशभरका होटल व्यवसायीहरू पोखरा भेलामा सहभागी हुन जुट्ने भएका छन्।
महाधिवेशनअघि चैत २५ गते सचिवालय बैठक र २६ गते कार्यसमिति तथा सल्लाहकार बैठक बस्ने कार्यक्रम तय गरिएको छ। महासङ्घले होटल, रेस्टुरेन्ट, बार तथा रिसोर्ट व्यवसायले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ। साथै, व्यवसायमैत्री नीति निर्माण, कर प्रणाली सरलीकरण र प्रशासनिक झन्झट अन्त्य गर्न सरकारसँग माग समेत गरिएको छ। व्यवसायीहरूले भोग्दै आएका समस्या—उच्च कर, बढ्दो भाडादर, दक्ष जनशक्तिको अभाव—समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ। साथै, व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
आगामी दिनमा सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा नयाँ पर्यटकीय गन्तव्य विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने महासङ्घले स्पष्ट पारेको छ। पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा, महासचिव टी.आर. भण्डारी ‘शंकर’ लगायतले पनि आफ्ना धारणा राखेका थिए।



