
काठमाडौं,
दुई साता समेत नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज (बुधबार) साँझ सूचना जारी गर्दै आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ। निगमले भौगोलिक आधारमा तीन वर्ग छुट्याउँदै पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ । निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन्। तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल डिपो समेटिएका छन् ।
यसअघि निगमले चैत १ गते मात्र मूल्य समायोजन गरेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएकाले छोटो अवधिमै पुनः मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ । निगमका अनुसार मार्च १ देखि २४ तारिखसम्म खरिद मूल्यमा ठूलो वृद्धि भएको छ। यस अवधिमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँले बढ्दा डिजेलमा १४३ रुपैयाँसम्म वृद्धि भएको जनाइएको छ। यही कारण स्थानीय बजारमा पनि मूल्य बढाउन बाध्य भएको निगमको भनाइ छ ।



