कास्कीको रूपा गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बुधबार कृषि जैविक प्रर्दशनी हुने

-


     पोखरा क्लिक     
     फागुन २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २६ फागुन,

कास्कीको रूपा गाउँपालिकामा आज (मंगलबार) देखि खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको स्थापना दिवसको अवसरमा राष्ट्रिय खेल भलिबलको विकास तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपा गाउँपालिका–६ भिरचोक उक्त प्रतियोगिता सुरु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान गर्न र राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन विकास, खानेपानी, शिक्षा, भौतिक पूर्वाधार, सडक, सिंचाइ, कृषि, पशुपालन तथा रोजगारीका क्षेत्रमा उल्लेख्य कामहरू गरिरहेको बताउनुभयो। साथै युवा तथा खेलकुदको विकासका लागि ‘एक वडा एक खेल मैदान’ निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात गर्दै रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर रूपमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाबाट सात टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र तृतीय हुने टोलीलाई २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसैगरी उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ, बेस्ट सेटरलाई २ हजार रुपैयाँ र बेस्ट स्पाइकरलाई १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।भलिबल खेल संयोजक तथा वडा नम्बर १ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ लगायतको उपस्थिति रहेको थियो। यसैबीच स्थापना दिवसको अवसरमा बुधबार महिला तर्फको रस्साकसी प्रतियोगिता, कृषि जैविक प्रदर्शनी, ‘एक झलकमा रूपा’ अंक–४ को विमोचन, विद्यार्थी तथा शिक्षक सम्मान लगायत विविध सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरू पनि आयोजना गरिने प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लोकनाथ पौडेलले पोखराक्लिकलाई जानकारी दिनुभयो।