
पोखरा,
प्रतिष्ठित क्लवहरु सहारा यूके÷सहारा हङकङ÷सहारा अष्ट्रेलिया, तमु धि यूके सहितका संघ संस्थाका पदाधिकारीहरुले पोखराको खेलकुदको विकासमा सहकार्य गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मञ्चले आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न आवश्यक सहयोग गर्ने वचन समेत दिनु भएको हो ।
“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित मञ्च गण्डकीले हरेक बर्ष वैशाख तेश्रो साता आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्ड मार्फत खेलाडी, प्रशिक्षक, खेल संघ सस्था सहितका ७ विधामा सम्मान गर्ने उक्त अवार्डलाई आफुहरु विदेशमा रहेर पनि विगतका बर्षदेखि प्रदान गर्दै आएको सहयोग यस बर्ष पनि निरन्तरा दिने भएको सहारा यूकेका अध्यक्ष शारदा गुरुङले बताउनु भयो । शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गर्नुभएको हो । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा तमु धीँ यू.के.का उपाध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताउनुभयो । उहाँले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गर्नुभयो ।

सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, क्वोंने घोताने घोण्टे तमु समाज यूकेका निवर्तमान अध्यक्ष एवं सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ लगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका संस्थापक सल्लाहकार महेश गुरुङले यस्तो कार्यक्रमले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु बिच भावनात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । साथै टोलीले खेलकुद र सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव परशुराम शर्माले पनि बोल्नुभएको थियो ।






