
दीननाथ बराल,
पोखरा, ८ फागुन
२५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लव र जावलाखेल युथ क्लवबीच भोलि (शनिबार) दिउँसो २ बजे पोखरा रंगशालामा फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहितको उपाधि जित्दै इतिहास रच्ने दुवै टोलीले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाबी गर्नु भएको हो ।
समूह ‘ए’ बाट सहारा क्लवले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मस्र्याङदी क्लब लाई सडेन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि क्वाटरफाइनलमा पनि सहाराले नेपाल पुलिस क्लब विरुद्ध सडेन डेथमै जित निकाल्दै अदम्य आत्मबल प्रस्तुत गरेको थियो । लगातार दुई चरण सडेन डेथमा जित्नु सहाराको मानसिक दृढता र दबाब सहने क्षमताको प्रमाण बनेको छ । १२ वर्षपछि उपाधि ‘खोला फर्काउने’ लक्ष्यसहित सहारा मैदान उत्रँदैछ । २०७० सालमा मनाङलाई हराउँदै उपाधि जितेको सहाराले त्यसयता उपाधि चुम्न सकेको छैन। प्रशिक्षक सुनिल राना मगरका अनुसार सहारा एकेडेमीका उत्पादन युवा खेलाडी र दर्शक समर्थन नै टोलीको मुख्य बल हो। कप्तान सुसिल लामाको नेतृत्वमा सहारा आक्रामक रणनीति सहित मैदान उत्रने तयारीमा छ । १२ बर्ष म्यानेजर बन्नु भएको प्रशिक्षक मगर हाल प्रशिक्षक हुनु भएको हो । सहाराले उद्घाटन खेलमा पाहुना टोली हङकङको गोर्खा इन्टरनेश्नल क्लवलाई पराजित गरेको थियो ।
समूह ‘बी’ बाट जावलाखेल युथ क्लवले सेमिफाइनलमा उज्वेकिस्तानको आबा फुटबल क्लवलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड लाई पराजित गर्दै जावलाखेलले निरन्तर उत्कृष्ट प्रदर्शन गरेको छ । जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले उनेस चौधरीको कप्तानीमा टोली उपाधि जित्ने स्पष्ट रणनीति सहित मैदान उत्रने बताउनु भयो । “नेपाली फुटबलको मुख्य समस्या फिनिसिङ हो,” उहाँले भन्नुभयो, “फाइनलमा जसले पहिलो गोल गर्छ, उपाधि उसकै पक्षमा जाने सम्भावना धेरै हुन्छ।” २०६८ सालमा फाइनलमा मनाङसँग पराजित हुँदै उपविजेता बनेको जावलाखेल यसपटक इतिहास पल्टाउने दृढ संकल्पमा छ ।
एकातिर सडेन डेथ जितको आत्मबल बोकेको आयोजक सहारा, अर्कोतिर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जावलाखेल २५ औं संस्करणको ऐतिहासिक फाइनलमा दुवै टोली इतिहास रच्ने दाउमा छन्। हिमश्री फुड्सको उत्पादन ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखराक्लिकलाई जानकारी दिनुभयो । गत वर्ष उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले उपाधि जितेको थियो ।




