पाहुना टोली उज्वेकिस्तानको उपहार गोलले जावलाखेल १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ७ फागुन,

जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले पाहुना टोली आबा फुटबल क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

जावलाखेलको जितमा निर्णायक गोल भने विपक्षी टोलीबाट ‘उपहार’का रूपमा गोल प्राप्त भयो। खेलको दोस्रो हाफको सुरुआतमै धिरेन्द्र कुँवरले प्रहार गरेको क्रस बललाई पोष्ट नजिक रहेका आबाका डिफेन्डर खुसन गनिजानोभले क्लियर गर्ने प्रयास गर्दा बल छातीमा लागेर आफ्नै पोस्टमा गोल हुन पुगेको थियो। सोही आत्मघाती गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।

खेलको ६५औं मिनेटमा जावलाखेलका युवराज ढकालले आबाका सार्दोरबेक मातमुरातोभलाई मुखमा प्रहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसपछि जावलाखेल १० खेलाडीमा सीमित भए पनि रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउन सफल भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका जोखिदजोन राखिमोभ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। खेलको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष उज्वल रञ्जितले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए।

आबाका प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले राम्रो प्रदर्शनका बाबजुद हार व्यहोर्नु परेको बताए। उनले दोस्रो हाफको सुरुमै गोल खाएपछि जावलाखेलले रक्षात्मक खेल्दा आफूहरूले सिर्जना गरेका अवसर सदुपयोग गर्न नसकेको उल्लेख गरे। नेपालमा आतिथ्यता उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा समेत गरे। जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले उज्वेकिस्तानी टोलीविरुद्ध जित निकाल्न निकै कठिन भएको प्रतिक्रिया दिए। उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाउँदै अनुशासन खेलको महत्वपूर्ण पक्ष भएको बताए। अब शनिबार दिउँसो २ बजे हुने फाइनल खेलमा जावलाखेलले आयोजक सहारा क्लब सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङका अनुसार हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले पोखराक्लिकलाई बताए । जावलाखेल २०६८ सालमा मनाङ मस्याङदी क्लवसंग फाइनल खेलमा पराजित हुदै उपविजेता भएको थियो ।



This will close in 20 seconds