माघ १८ देखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग क्रिकेट हुने, १२ विद्यालयको सहभागिता

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १५ माघ,

पोखराको प्रतिष्ठित बिद्यालय प्रतिभा माध्यमिक बिद्यालयको आयोजनामा यही माघ १८ गतेदेखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालय सहभागी हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा यही माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतिभा माविका प्राचार्य किरण सापकोटा बताउनु भयो ।

प्रतियोगितामा आयोजक प्रतिभा मावि सहित कुमुदिनी होम्स मावि, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल–भारत मैत्री विद्यालय, वाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड मावि सहभागी हुने भएको उहाँले जनाउनु भयो ।

प्रतियोगिताको ट्रफी पत्रकार सम्मेलनमै सार्वजनिक गरिएको थियो भने सहभागी विद्यालयहरूको समूह विभाजन लक्की ड्रमार्फत गरिएको छ । लिग कम नकआउटका आधारमा खेल हुने भएको छ । समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि, टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन, मदरल्याण्ड मावि, समूह ‘सी’ प्रतिभा मावि, नेपाल–भारत मैत्री विद्यालय, वाराही मावि, समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् । समूह चरणमा प्रत्येक टोलीले आपसमा खेल्नेछन् ।

प्रत्येक समूहको विजेता सेमीफाइनलमा प्रवेश गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन पुनले बताउनु भयो । उहाँका अनुसार सेमीफाइनलमा समूह ‘ए’–‘बी’ र समूह ‘सी’–‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिभा पहिचानमा प्रतियोगिता कोशेढुंगा

प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उक्त प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेटको विकास र खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ हामी शिक्षासंगै खेलकुद क्षेत्रलार्इं पनि अघि बढाउन चाहन्छौं, विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण र एक्सपोजर दिन यो प्रतियोगिता कोशेढुंगा सावित हुनेछ।” अध्यक्ष पौडेल र प्राचार्य सापकोटाले भविष्यमा छात्रालाई समेत समेटेर क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिताको विजेता विद्यालयले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज र प्लेयर अफ द म्याच लाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य रविन्सन प्रजू ले निजी क्षेत्रबाट विद्यालयस्तरमा क्रिकेट प्रवर्द्धनका लागि गरिएको प्रयास निकै प्रशंसनीय भएको बताउनु भयो ।



This will close in 20 seconds