
पोखरा १३ माघ,
नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा २९ मा जारी उक्त प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जिल्ला फुटबल संघ (एन्फा) तनहुँ को टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो ।
प्रहरीका विवेक गुरुङले खेलको ३० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोली माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच बुधबार हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने भएको क्याच कमिस्नर गोेपाल थापाले पोखराक्लिकलाई बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले बताए । माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा २ विभागिय सहित ८ टिमको सहभागिता रहेको सचिव सन्तोष गुरुङले जनाए ।



