टाइगर कपमा सहभागी हुने माल्दिभ्सको टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास खेल

-


     पोखरा क्लिक     
     माघ ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, माघ,

पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा सहभागी हुने माल्दिभ्सको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको छ । टोली आइतबार काठमाडौं अवतरण गरेको प्रतियोगिताका संयोजक कुमार गुरुङले पोखराक्लिकलाई बताए ।

माल्दिभ्स टोलीलाई स्वागत गर्न काठमाडौंमा टाइगर ग्रुप अफ पोखरा नेपालका सह–कोषाध्यक्ष जीवन भण्डारी, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह र सदस्य निलम खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रतियोगिताका खेल सञ्चालनका लागि एभीसी अन्तर्राष्ट्रिय रेफ्री अहमद सलीम (कुण्डी) पनि काठमाडौं आइपुगेका छन् । स्रोतका अनुसार माल्दिभ्सको टोली सम्भवतः सोमबारदेखि पोखरामा अभ्यास खेल सुरु गर्ने तयारीमा छ । पोखरा रंगशालामा अभ्याससँगै टोलीले मौसम र मैदानमा अभ्यस्त हुने कार्यक्रम बनाएको जनाइएको छ । पोखरामा माघ ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा यसपटक तीन विदेशी सहित १४ टोली सहभागी हुँदैछन् । महिला तर्फ थाइल्याण्डका दुई टोलीसहित सात र पुरुष तर्फ माल्दिभ्स र भारतका टोलीसहित सात टोलीबीच प्रतिस्पर्धा हुने भएका हुन् ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगिताको अन्तिम तयारी तीव्र पारिएको छ । “मैदान व्यवस्थापन, आवास, यातायात र खेल तालिकाको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने ।
प्रतियोगिताका संयोजक कुमार गुरुङले अन्य विदेशी टोलीहरू पनि आउने तयारीमा रहेको जानकारी दिए । सह—संयोजक डोलराज पोखरेलका अनुसार प्रतियोगिताको देशव्यापी प्रचारप्रसार व्यापक रूपमा भइरहेको छ र दर्शकको उत्साह उच्च देखिएको छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताबाट हुने बचत रकम स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको टाइगर कप यस वर्ष अझै भव्य हुने आयोजकको दाबी छ ।

प्रतियोगितामा विजेता पुरुष तथा महिला तर्फ दुवै समूहका विजेता टिमले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टिमले रु २ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्ने भएको संस्थाका सचिव डिबी नेपालीले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६ सय ६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई रु ११ हजार ६ सय ६६ बराबरको उपहारको व्यवस्था गरिएको छ ।