पोखराका अग्रज पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


पोखरा, २५ कात्तिक

पोखराका अग्रज पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन भएको छ । ट्रेकिङका लागि सिक्लेसतर्फ जाँदै गर्दा हृदयघात भई उहाँको मृत्यु भएको हो ।

हृदयघात भएपछि तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइए पनि उपचारकै क्रममा उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उहाँ ६१ वर्षका हुनुहुन्थ्यो ।

चित्रबहादुरले लेकसाइडमा होटल मुनलाइटकपडा पसल सञ्चालन गर्दै आउनुभएको थियो । उहाँको निधनले पोखराको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

स्व. भट्टराईका श्रीमती र दुई छोराहरू — कञ्चन र कल्याण — रहेका छन् । उहाँका दाजु नाताका पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईका अनुसार अन्त्येष्टि बुधबार बिहान साढे ८ बजे सेती नदीको शान्तिघाटमा गरिनेछ । त्यसअघि उहाँको निवास पोखरा–६, अम्बोटबाट शवयात्रा हुनेछ ।

चित्रबहादुर पोखराका वरिष्ठ पर्यटन व्यवसायी रुद्रबहादुर भट्टराईका चार छोरामध्ये एक हुन् । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई उहाँका सहोदर भाइ हुन् ।

पोखराको पर्यटन विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका स्व. चित्रबहादुर भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पर्यटन व्यवसायी तथा समुदायले गहिरो दुःख व्यक्त गरेका छन् ।