कोटदेउराली बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     असाेज ४ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कृषि, पर्यटन, धार्मिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले वि.सं. २०७५ सालमा ६० जना सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ हजार २ सय ३० जना सदस्य पुगेका छन्। सहकारीले वित्तीय कारोबारसँगै कृषि, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले किसानका लागि सहकारीले सहज र प्रभावकारी ढंगले काम गरिरहेको बताउनुभयो। उहाँले सहकारीले कृषि क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोला, पोखरा–३१ का वडा सदस्य देवेन्द्रराज अधिकारी तथा पोखरा–२९ का वडा सदस्य कालिदास पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो।

साधारण सभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष निरञ्जन विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष श्रीकृष्ण तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव केशवराज तिवारीले गर्नुभएको थियो। सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको जनाएको छ। हालै बाढीपीडितको सहयोगका लागि संस्थाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो।

साधारण सभाका अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कृषकलाई सम्मान गरेको थियो। नियमित ऋण असुलीतर्फ संगिता तिवारी, नियमित बचततर्फ हिमकुमारी गुरुङ, महिला उद्यमीतर्फ कमला रानाभाट, मसलावाली उत्पादनतर्फ सिचिता बन्जरा, जेठो बुढो धान उत्पादनतर्फ फूलमाया सापकोटा, बाख्रापालनतर्फ देबु कँडेल, दुग्ध उत्पादनतर्फ अनन्त अधिकारी, माछापालनतर्फ गंगामाया कँडेल, तरकारी उत्पादनतर्फ गोमा वास्तोला र बाल बचततर्फ प्रशंसा कँडेललाई सम्मान गरिएको थियो। संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र सापकोटा भाटले सहकारी स्थापना गर्दा सुरुवाती चरणमा धेरैले विश्वास नगरेको स्मरण गर्दै अहिले सदस्य संख्या उल्लेख्य रूपमा वृद्धि हुनु सहकारीले गर्दै आएको कामप्रतिको विश्वासको परिणाम भएको बताउनुभयो। सदस्य संख्या बढेसँगै सहकारीको आर्थिक कारोबारसमेत विस्तार हुँदै गएको उहाँको भनाइ थियो।