४० कट्यो, जोश घटेनः लामाचौरमा प्रौढ भलिबल प्रतियोगिता हुँदै

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २९, भदौं,

गुरुङ मगर समाजको आयोजनामा आउदो असोज १ गतेदेखि पोखरामा प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, ४० कट्यो, जोश घटेन, खेलकुदमा उमेरले छेक्दैन’ भन्ने नारासहित समाजको प्रथम वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका–१९, लामाचौरस्थित पातिघारी खेलमैदानमा असोज १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा ४० वर्ष उमेर कटेका पुरुष तथा ३० वर्ष उमेर कटेका महिलाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत प्रौढ खेलाडीहरूबीच आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्नुका साथै राष्ट्रिय खेल भलिबलको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको खेल संयोजक सन्दिप थापा मगरले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। साथै पूर्व विभागीय, जिल्ला, क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलाडीलाई पुनः खेलमैदानमा जोड्दै सक्रिय जीवनशैली, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पुरुषतर्फको विजेताले रु। १ लाख १ हजार, उपविजेताले रु। ६१ हजार र तृतीय हुने टोलीले रु। ३१ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले रु। ५१ हजार, उपविजेताले रु। ३१ हजार तथा तृतीय हुने टोलीले रु। १५ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र स्पाइकर तथा महिलातर्फ पनि विधागत उत्कृष्ट खेलाडीलाई सम्मान गरिने आयोजकले पोखराक्लिकलाई जनाएको छ।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने खेल टीटी सिस्टममा खेलाइनेछ। सहभागी खेलाडीले आफ्नो उमेर खुल्ने आधिकारिक प्रमाणपत्र वा कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। प्रत्येक टोलीमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित आवश्यक संख्या कायम गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ दर्ता शुल्क रु। ७ हजार र महिलातर्फ रु। ४ हजार ५ सय तोकिएको छ।खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्दै प्रतियोगिताबाट बचत हुने रकमको केही प्रतिशत भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने आयोजकले घोषणा गरेको छ।

खेलकुद प्रतियोगिताबाट प्राप्त बचत रकमलाई विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णयले प्रतियोगितालाई केवल खेलकुदमा सीमित नराखी सामाजिक सेवासँग समेत जोड्ने आयोजकको भनाइ छ। यसले खेलकुदमार्फत सामाजिक एकता, सहयोग र मानवीय संवेदनाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गुरुङ मगर समाजले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, स्थानीयवासी, संघसंस्था, सञ्चारमाध्यम तथा शुभेच्छुक सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

समाजका अध्यक्ष युग गुरुङका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा पनि खेलप्रतिको उत्साह र सक्रियतालाई निरन्तरता दिनु हो। “उमेर खेलकुदका लागि बाधक होइन, इच्छाशक्ति र स्वास्थ्यप्रतिको सचेतना भए जुनसुकै उमेरमा पनि खेल्न सकिन्छ” भन्ने सन्देश प्रतियोगिताले दिने आयोजकको विश्वास छ। प्रतियोगिताले प्रौढ पुस्तालाई पुनः खेलमैदानमा फर्काउने मात्र नभई नयाँ पुस्तालाई समेत खेलकुदप्रति प्रेरित गर्ने अपेक्षा गरिएको प्रचार संयोजक विराज शर्माले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च हुने अनुमान गरिएको छ भने १२ लाख ५० हजार आम्दानी हुने अपेक्षा गरिएको कोषाध्यक्ष सुर्य पूर्जा मगरले बताउनु भयो ।