
पोखरा,
विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित ९ औँ विश्वकर्मा भलिबल कप–२०८३ पोखरा रंगशालामा सम्पन्न भएको छ। असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा दाजुभाइ क्लब गल्याङ प्रथम, हरिनास गाउँपालिका दोस्रो र शुक्लागण्डकी–१२ तेस्रो भएका छन्।

विजेता दाजुभाइ क्लब गल्याङले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हरिनासले ५० हजार र तेस्रो शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा हरिनासका सुनील मानन्धर उत्कृष्ट स्पाइकर, सञ्जित मानन्धर उत्कृष्ट ब्लकर, दाजुभाइ क्लबका सुशील विश्वकर्मा उत्कृष्ट डिफेन्डर र शुक्लागण्डकी–१२ का विशाल ठाकुरी उत्कृष्ट सर्भर घोषित भए। दाजुभाइ क्लबका श्याम विश्वकर्मा उत्कृष्ट प्रशिक्षक तथा उमेश सेन्चुरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट घोषित सबैले जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
समापनमा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले प्रतियोगिता युवालाई खेलकुदसँग जोड्दै प्रतिभा, अनुशासन र सहकार्य विकास गर्ने माध्यम बनेको बताउनुभयो। विश्वकर्मा समाजको कला, संस्कृति, सीप र पहिचान संरक्षणमा पनि प्रतियोगिताले योगदान पुर्याउने उहाँको भनाइ थियो। प्रतियोगिता आयोजक समितिका अध्यक्ष बेलबहादुर विश्वकर्माले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित बनाउने बताउनुभयो। खेलकुद संयोजक पीताम्बर सुनारले सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रम समाजका सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।




