स्याङ्जामा विशाल रानाभाट जिताऔं अभियान

-


     पोखरा क्लिक     
     असार २२ गते २०८२ मा प्रकाशित


मेरो भ्वाइस यूनिभर्स २ को उत्कृष्ट १४ मा पर्न सफल विशाल रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन विशाल रानाभाट जिताऔँ अभियान शुरु गरिएको छ ।

अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो ।

विशालको प्रगतिको कामना गर्ने आफन्तजनलाईसमेत भोट गर्नुपर्ने त्यसको विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो ।

पैसाको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकलाई जानकारी गराउन अभियान थालिएको अभियन्ता किरण रानाभाट बताउँछन् ।

प्रतियोगीलाई भोट गर्नका लागि आयोजकले मोवाइलको म्यासेज बक्सबाट एसएमएस र माइ इन्ट्रा एफ एप गरी दुई तरिकाको व्यवस्था भएको छ ।

विशाललाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर अङ्ग्रेजी अक्षरको एमयुभी जिरो टु (MVU 02) टाइप गरी ३७००० मा पठाउन सकिन्छ । अर्को तरिकाअनुसार मोवाइलको प्लेस्टोरबाट माइ इन्ट्रा एफ डाउनलोड गरी एक भोट निःशुल्क र आवश्यकतानुसार खरीद भोट पनि गर्न सकिने व्यवस्था छ ।

दुबई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, पोर्चुगल, बेलायत, अमेरिका, हङ्कङ, भारत र नेपालका विभिन्न अडिसनबाट छनौट भएका स्वनामधन्य प्रतिभामध्ये १४ जना उपाधिका लागि लडिरहेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिकाको आयोजनामा चलिरहेको उक्त रियालिटी शोका विजेतालाई एक करोडसहितका विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।