
दीननाथ बराल,
पोखरा ५, माघ,
पोखराको फेवातालमा डुङ्गा चालकले मादक पदार्थ सेवन (मापसे) गरेर डुङ्गा चलाउने गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले डुङ्गा चालकहरुमा आज (सोमबार) गरेको छड्के अनुगमनको क्रममा फेवातालमा डुङ्गा चालकले मापसे गरेको पुष्टि गरेको हो ।
अनुगमनको क्रममा धार्दिङ घर भई हाल पोखरा ६ बस्दै आउनु भएको २३ बर्षका राजिव भण्डरीलाई मादक पदार्थ सेवन (मापसे) अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही गरिने भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याँमबाबु ओलियाले पोखराक्लिकलाई बताउनु भयो ।
पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगर्ने गरेको भन्ने लगायतका गुनासो आएपछि अनुगमन गरिएको उहाँको भनाई थियो । अनुगमन कार्य निरन्तर रहने प्रमुख ओलियाले उल्लेख गर्नु भयो । अनुगमनमा उहाँको उपस्थिति रहेको थियो ।
फेवातालमा डुङ्गा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेको समेत व्यबस्था गरिएको छ । तालमा हिउँदको समयमा हावाहुरी संगै आउने छालले सानो असावधानिका कारण कहिले काहिँ पर्यटकहरुको ज्यान समेत जाने गरेको छ । आफुहरुले मापसे नगरी डुङ्गा संचालन गर्न आग्रह गर्दै आएको डुंगा व्यवसायी संगठनका पूर्व अध्यक्ष बुद्धिबहादुर परियारले बताउदै आउनु भएको छ ।





