
पोखरा २, कार्तिक,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज(शुक्रबार) प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँ विरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको दिए लगत्तै उहाँलाई आज पक्राउ गरी पोखरा ल्याउदै गरेको बताइन्छ । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नुअघि पार्टी कार्यालयमा बोल्दै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने प्रतिकेया दिनु भएको थियो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएको गुनासो समेत गर्नु भएको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछाने सहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछाने सहित पक्राउ पुर्जी जारी हुनेहरुमा अनन्त वावु राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा,दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ र विर बहादुर रानाभाट पर्नु भएको छ ।
रवि लामिछाने पक्राउ पर्नु केही समय अघि आफ्नो फेस बुक स्टाटसमा यस्तो पोष्ट गर्नु भएको थियो । जस्ताको तस्तै ।
सरकार मर्यो,हामीलाई जुठो पर्यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।




