
दीननाथ बराल,
पोखरा ३१, भदौ,
गण्डकी प्रदेशको प्रेस रजिस्टारमा हालै नियुक्त हुनु भएको बिमला भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सपथ ग्रहण लिई रहदा त्यसको मुल गेट अगाडी बिषेधित क्षेत्रमा बाहिर बिरोध प्रर्दशन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउदै गर्दा पोखराका केही क्रियाशिल युवा पत्रकारको समुहले बिरोध गर्दै कास्कीबाट सिफारिस भएका सबै पत्रकारले नयाँ सदस्यता पाउनु पर्ने माग गर्नु भएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम संचारको पक्षमा र पत्रकारहरुको हकहितको लागि नेपालको संविधानले दिएको अधिकारको आधारमा जिम्मेवार भयर काम गर्ने बताउनु भयो । कानूनलाई पालना गरी धेरै ऐन कानूनहरु बनाउनु पर्ने भएकोले अवसर र चुनौती उत्तिकै भएको उहाँको भनाई थियो ।मुख्यमन्त्री पाण्डेले प्रेस रजिस्टार नियुक्त भएसंगै अब प्रदेशमा पत्रकारले लगाउने आरोप तथा दोष अब पत्रकारकै तर्फबाट हालै नियुक्त हुनु भएको भण्डारीको काधमा आएको बताउनु भयो । आगामी दिनमा आम संचार क्षेत्रलाई कसरी अघि बढाउने भन्ने बिषयमा आफुहरुलाई अब धेरै सहज हुने उहाँको भनाई थियो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहनु भएको भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार हुनु भएको हो ।
गण्डकीको पहिलो प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाको मात्र आवेदन परेको थियो । भण्डारी सहित भरत कोइराला, दुर्गा अधिकारी, भानु पराजुली र सरिता तिम्सिना पंगेनीले आवेदन दिनु भएको थियो । उम्मेदवारको केही दिनअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्ता भएको थियो । आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिमा विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बाँस्तोला समेत रहनु भएको थियो । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गरिएको हो । कानुनमा प्रेस रजिष्ट्रारका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह हासिल गरेको, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा कम्तीमा १५ वर्षको अनुभव भएको लगायत योग्यता निर्धारण गरिएको थियो ।
यसैबिच, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयभित्र प्रेस रजिस्ट्रार भण्डारीको सपथ भई रहदा बाहिर भने विरोध प्रर्दशन भएको थियो । कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गर्दै क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गर्नु भएको थियो । पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यातालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीले कास्की शाखाको तर्फबाट नबोलेको भन्दै सपथ ग्रहण बाहिर विरोध गरिएको समूहका सदस्यले बताउनु भएको छ ।
निषेधित क्षेत्रमा आन्दोलन गरेको बिरोधमा प्रहरीले उनीहरुलाई सो क्षेत्रबाट तत्काल हट्न निर्देशन दिएको थियो । केही मिनेट आन्दोलन सहित प्ले कार्ड समेत सो क्षेत्रमा प्रर्दशन गरिएको थियो । सदस्यता वितरणमा राजनीतिकरण हुँदा ३२ भन्दा बढी पत्रकार महासंघ जिल्ला शाखाले नै क्रियाशील पत्रकारलाई समेट्न माग गर्दै संयुक्त विज्ञप्ति प्रकाशन गर्नु भएको छ । तर, कास्की शाखाकी अध्यक्ष भण्डारीले सदस्यता वितरणमा राजनीतिकरण गर्दै मौनता साधेको, पत्रकार महासंघमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी बोलाएर आन्दोलन तुआउन खोजेको सक्रिय पत्रकारको आरोप छ । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुनः आन्दोलन उत्रर्दै सोमबार नै कास्की शाखामा तालाबन्दी गरेका छन् ।






