
दीननाथ बराल,
पोखरा २, असार,
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले महत्वकाक्षि बजेट ल्याउदा दुर्घटना हुन सक्छ भएकोले आफुहरुले इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको छ । प्रदेशको बजेट ल्याएको भोलिपल्ट आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस बर्ष निकै हतारमा महत्वकाक्षि भन्दा पनि इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको हो ।

करिब डेढ बर्षको अन्तरालमा ४ पटक सरकार परिवर्तन हुँदा यस पाली आफुहरुले ५ दिनको तयारीमा बजेट ल्याउनु परेकोले जनताले अपेक्षा गरेअनुसार ल्याउन नसके पनि सन्तोसजनक बजेट ल्याएको मन्त्री डा.गुरुङको भनाई छ । प्रदेशको लक्ष्य अनुसारको राजश्व बृद्धि गर्न नसक्नु, संघिय सरकारबाट प्राप्त हुने चौथो किस्ताको रकम १ अर्ब ९८ करोड नआएकोले गर्दा बजेटको आकार खुम्चिनु परेको उहाँले बताउनु भयो । संघिय सरकारले विक्तिय हस्तान्तरणको रकम समयमै भुक्तानी दिन नसक्दा प्रदेश सरकारलाई कार्यप्रगतीमा समस्या हुने मन्त्री डा.गुरुङले बताउनु भयो । यसपालीको बजेट २१ अर्ब रुपैया क्षेत्रगत तर्फ जस्तै सिप विकास, आत्मर्निभर लगायतको क्षेत्रमा विनियोजन भएको उहाँले जनाउनु भयो । सडक तथा पुल निर्माण एवं मर्मत संहारको क्षेत्रमा मात्र करिब ११ अर्ब रहेको उहाँको भनाई थियो ।
प्रदेश सरकार गठन भएसंगै जनताहरुको पहुच नजिकएको बताउदै मन्त्री डा.गुरुङले जनताका आवश्यकता भएका योजनाहरुलाई मर्मत संहारको क्षेत्रमा ५ लाख देखि खानेपानी, उर्जामा १० लाख, पूर्वाधार क्षेत्रमा न्यूनतम १० लाख देखि ३० लाखसम्मका धेरै योजनाहरु आउदो आर्थिक बर्षको लागि समेटिएको मन्त्री डा.गुरुङले जनाउनु भयो । अघिल्ला सरकारको आर्थिक दाहित्व आफुहरुले बहन गर्ने गरी बहुबर्षीय योजना र प्रदेशका महत्वपूर्ण योजनालाई बिषेश रणनितीक योजनाहरुमा बजेट विनियोजन गरिएको उहाँले जनाउनु भयो ।
निर्वाचित सांसदहरुको सिफारिसमा एक निर्वाचन एक सडक निर्माण कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको मन्त्री डा.गुरुङको भनाई छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले प्रदेशको प्थामिकता र सिद्धान्त, नीति तथा कार्यक्रम अनुसारकै बजेट आएको दाबी गर्नु भयो । दोश्रो पन्चबर्षीय योजना आगामी एक महिना पछि लागु हुने उहाँको भनाई थियो । मन्त्रालयका सचिव पुरुषोत्तम शर्माले यस बर्ष करिब प्रदेशमा ५ अर्ब मौजदात रहने भएको बताउनु भयो । चालु आर्थिक बर्षमा हालसम्म प्रदेशमा २ अर्ब ९४ करोड राजश्व संकलन भएको उहाँले जनाउनु भयो । प्रदेशले यस बर्ष ५ अर्ब १७ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो ।
उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताउनु भएको हो । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो । त्यसै गरी चालु तर्फ ३९.९१ प्रतिशत अर्थात १३ अर्ब १६ करोड ५ लाख ८२ हजार बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०÷०८१ मा ३३ अर्ब ८२ करोड विनियोजन गरेको थियो ।
वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० पचतिशत रकम विनियोजित गरिएको बताउदै मन्त्री डा.गुरुङले सो रकम मध्य आगामी आर्थिक वर्ष १ करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरिएको मन्त्री डा.गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यसरी न्यून हुने रकम मध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको उहाँले जनाउनु भयो ।



