२३ औं आहा रारा पोखरा गोल्डकपमा पाहुना टिम भारत र भुटानका सहित १२ टिम सहभागी हुने

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा २६, पुस

आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३ औं संस्करणमा भारत र भुटानको दुई पाहुना टोली सहित १२ टिमको सहभागिता हुने भएको छ । आउँदो माघ ९ गते देखी पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा भारतको लिग च्याम्पियन फुटबल क्लब भारत र भुटानको पारो फुटबल क्लब सहभागी हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।

प्रतियोगितामा गत बर्षको विजेता संकटा क्लब काठमाण्डौ, विभागीय टिम नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, जावलाखेल युथ क्लब, मनाङ मर्स्याङदी क्लब, मछिन्द्र क्लब, राइजिङ स्टार फुटबल क्लब, नवलपुर, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, श्री स्टार क्लब र सहारा क्लब पोखरा सहभागी हुने भएको क्लवले जनाएको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्देश्यका साथ माघ २० गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको अध्यक्ष बरालले बताउनु भयो । “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं“ भन्ने उद्देश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले निरन्तर उक्त प्रतियोगिता आयोजन गदै आएको छ ।

प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको छ भने प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने क्लवले जनाएको छ ।

२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने भएको छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौंथो व्यावको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित रहेको बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरूङले बताउनु भयो ।

प्रतियोगितामा विजेताले नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद प्राप्त गर्ने क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । कार्यक्रममा हिमश्री फुड्स प्रा.लि. का निर्देशक किरण केसीले सामाजिक कार्यक्रम गर्दै आएको क्लवको अभियानलाई निरन्तर साथ दिदै आएको बताउनु भयो । कम्पनीको जस्तो सुकै परिस्थितीमा पनि आफ्ना बाबु सुर्य बहादुर केसीले थालनी गर्नु भएको अभियानलाई आफुहरुले साथ दिएको बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त फुटवल प्रतियोगिताको लागि फुटवल मैदानमा पानी हाल्ने गरी आवश्यक मर्मत संहारमा आफुहरु लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले पोखराक्लिकलाई बताउनु भयो ।



This will close in 20 seconds