पत्रकार धौलागिरि, दहाल र शर्माका पाँच पुस्तक सार्वजनिक

-


     पोखरा क्लिक     
     असाेज १५ गते २०८३ मा प्रकाशित


काठमाडौँ, १५ असोज

। म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँचवटा पुस्तक बिहीबार काठमाडौँमा सार्वजनिक भएका छन्। सेफर्ड कलेजमा आयोजित कार्यक्रममा मुद्रण सञ्चारमाध्यमसँग सम्बन्धित चारवटा तथा मिडिया अनुसन्धानसम्बन्धी एक पुस्तक गरी पाँच पुस्तक सार्वजनिक गरिएको हो।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुने एकमात्र क्याम्पसका रूपमा रहेको सेफर्ड कलेजले यसअघि विश्वविद्यालयको पाठ्यक्रममा आधारित दुईवटा पुस्तक सार्वजनिक गरिसकेको सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले जानकारी दिनुभयो।

विद्यार्थीलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक उपलब्ध गराउने तथा सहभागितामूलक सिकाइ पद्धतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाँकी विषयका पाठ्यपुस्तकसमेत तयार गर्ने योजना रहेको उहाँले बताउनुभयो। स्नातकोत्तर तहको पहिलो र दोस्रो सेमेस्टरका बाँकी पाठ्यपुस्तक तयारीको क्रममा रहेको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विकासले शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने बताउनुभयो। विभिन्न स्रोतमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यार्थीलाई आवश्यक अध्ययन सामग्री सहज रूपमा उपलब्ध गराउन यस्ता पुस्तक उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो।

सोही अवसरमा क्याम्पसले तयार गरेको ‘सहभागितामूलक सिकाइ मार्गदर्शन’ समेत सार्वजनिक गरिएको थियो। मार्गदर्शनमा अनलाइन कक्षा सहभागितामूलक रूपमा सञ्चालन गर्ने तरिका, नियमित मूल्यांकन प्रक्रिया, सिकाइ कार्यमा विद्यार्थीको भूमिका तथा निरन्तर मूल्यांकन पद्धतिलगायत विषय समेटिएका छन्।

कार्यक्रममा स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणसमेत गरिएको थियो। विनोदप्रसाद शर्माले सहभागितामूलक सिकाइ पद्धति तथा स्नातकोत्तर तहको अध्ययनका विभिन्न आयामबारे विद्यार्थीलाई अभिमुखीकरण गर्नुभएको थियो।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा क्याम्पसमा स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थी गणेश बस्नेतले परीक्षाका लागि मात्र नभई जीवनका लागि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।mक्याम्पसका अध्यापक प्रकाशजंग कार्कीले मिडिया टेक्नोलोजीको अध्ययनको दायरा व्यापक भएकाले प्रभावकारी सिकाइका लागि विद्यार्थीको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।