
पोखरा,
पोखराको बिन्दबासिनी बसपार्क ९साबिक बागलुङ बसपार्क० र लामेआहाल बसपार्क निर्माणका लागि तयार गरिएको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा महानगरपालिका, एसियाली विकास बैंक (एडीबी) परियोजना टोली तथा परामर्शदाता कम्पनीका प्रतिनिधिबीच भएको संयुक्त भर्चुअल बैठकले दुवै बसपार्कको प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिएको हो।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, एडीबीका प्रिन्सिपल ट्रान्सपोर्ट स्पेसलिस्ट अरुण रामामुर्थि, एडीबीको दिगो शहरी गतिशीलता टोली तथा शाह कन्सल्ट इन्टरनेसनल प्रालिकी पुनम साहसहित डिजाइन टोली सहभागी थिए। महानगर प्रमुख आचार्यले बैठकपछि सामाजिक सञ्जालमार्फत बिन्दबासिनी र लामेआहाल बसपार्कको प्रारम्भिक डिजाइन सार्वजनिक गरेका छन्।
बैठकले पृथ्वी बसपार्कको साइट शीघ्र क्लियर गरी विस्तृत सर्वेक्षण अघि बढाउने निर्णयसमेत गरेको छ। महानगरका अनुसार यी पूर्वाधार परियोजना पोखरा महानगरपालिकाको ई–मोबिलिटी परियोजनाअन्तर्गत अघि बढाइएका हुन्। बसपार्क निर्माणसँगै पोखराको सार्वजनिक यातायातलाई विद्युतीय तथा वातावरणमैत्री प्रणालीतर्फ रूपान्तरण गर्ने योजना महानगरको छ। परियोजनाअन्तर्गत बसपार्कसहित सार्वजनिक यातायात प्रणालीको सुधारका लागि करिब ५ अर्ब रुपैयाँ बजेट परिचालन हुने जनाइएको छ।
महानगरले यी परियोजनाबाट पोखराको सार्वजनिक यातायातलाई आधुनिक, व्यवस्थित, सुरक्षित, दिगो, वातावरणमैत्री र यात्रुमैत्री बनाउन महत्वपूर्ण आधार तयार हुने विश्वास व्यक्त गरेको छ। बिन्दबासिनी र लामेआहाल बसपार्कको डिजाइन अन्तिम चरणमा पुगेसँगै पोखराको दीर्घकालीन सार्वजनिक यातायात पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।






