अन्तराष्ट्रिय धावक ले.रि.कुसाङ कुमार गुरुङले खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८३ मा प्रकाशित


पोखरा १३, असोज,

चार भञ्ज्याङ्ग खाल्टे पर्वतमा जन्मेर ब्रिटिश सेनामा नेपालीको विरता एवम् सुरताको उच्च नमूना प्रदर्शन गर्दै लेफ्टिनेन्ट पदबाट अवकाश प्राप्त बहुआयामिक व्यक्तित्वका धनी कुसाङ कुमार गुरुङले खुला पर्वतीय दौड तेस्रो संस्करणको प्रथम पुरस्कार प्रायोजन गर्नु हुने भएको छ ।
गुरुङ खेलकुदका माध्यमबाट राष्ट्र र राष्ट्रियतालाई विश्वसामु सुपरिचित गराउँदै अन्तर्राष्ट्रिय खेलाडीका रूपमा आफूलाई स्थापित गरी मलेसियामा आयोजित माउन्टे किन वालु कल्यमबथनमा ह्याट्रिक गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकोर्ड राख्न सफल अन्तर्राष्ट्रियस्तरका धावक हुनुहुन्छ ।

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १९ बढी म्याराथनमा सहभागी भई खेलकुदको विकास एवम् विस्तारमा मन, वचन, कर्मले क्रियाशील रही योगदान पुर्याउँदै आउनुभएको छ । तत्कालीन ठानामौला गाउँ पञ्चायत वडा नं ७ खाल्टे हाल फलेवास नगरपालिका वडा नं ८ मा स्वर्गीय पिता दिलबहादुर गुरुङ र स्वर्गीय माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानका रूपमा जन्मनु भई बाल्यावस्थादेखि नै भद्र, शालीन र आज्ञाकारी हुनुहुन्थ्यो । प्रारम्भिक शिक्षा श्रीजनज्योति निम्न माध्यामिक विद्यालयबाट शुरु गर्नु भई माध्यमिकस्तरको अध्ययन श्री त्रि–शहीद माध्यामिक विद्यालय पञ्चमूल स्याङ्गजाबाट पूरा गरी पिता पुर्खाका पाइला पछ्याउँदै अग्रजको उत्प्रेरणाबाट प्रेरित हुँदै उहाँ सन् १९८३ मा बेलायती सैनिक सेवामा संलग्न प्रवेश गर्नुभएको थियो । सेनामा प्रवेशपछि टी.डि.बि.जी.को आधारभूत तालिम हुँदै २÷२ गोर्खा राफल्समा स्थानान्तरण भई सन् १९८९ वर्ष भरिकै उत्कृष्ट एन.सि.ओ. वा अमल्दार ठहरिएर प्यारिस ट्रोफीबाट सम्मानित हँुदै सन् १९९४ बाट पहिलो रोयल गोर्खा राइफल्स हुँदै सन् १९९५ र १९९६ मा कमान्डर ट्रफीबाट विभूषित तथा फकल्यान्ड आइल्यान्ड कमेन्डेसन प्राप्त गर्दै सन् २००२ मा महारानी एलिजावेथ द्वितियका लेफ्टनेन्ट तथा अधिकृतमा पद्दोन्नति भई २४ वर्षे सैनिक सेवा गरी अवकाश प्राप्त हुनुभएको हो ।

बहुआयामिक व्यक्तित्व गुरुङले १० पटक भन्दा बढी ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री बिजेता, बृटिस फोर्सेस खुद रेस बिजेता, ब्रिटिस आर्मी क्रसकन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथ्लेटिक समूह स्वर्ण पदक, फोर पिक रेस हङकङ कीर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथोन रजत पदकलगायत १९ म्याराथन र २३ हाफ म्याराथन पूरा गरी खेल क्षेत्रमा आफ्नो कीर्तिमानी सुनौला अक्षरले लेखाउनु भएको छ । सामाजिक सेवाका धनी उहाँ तमुधीं यूकेमा सल्लाहकार, चार भञ्ज्याङ्ग तमु समाज यूकेमा सल्लाहकार, एन. आर. एन. यू. के. सल्लाहकार, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी सल्लाहकार, पर्वत वेलफेयर सोसाइटी सल्लाहकार, सहारा यूकेका पूर्व अध्यक्ष र रहन्मै समाज यूकेको अध्यक्ष रहेर सामाजिक योगदान पनि पुर्याउँदै आउनुभएको छ ।

अत्यन्त मिलनसार मृदुभाषी र आँखामा राखे पनि नबिझाउने स्वभावका, देश विदेशमा पनि आफ्नो गाउँ, चार भञ्ज्याङलाई जीवन्त राख्ने तमुधीं यूकेका सच्चा सेवक तथा आजीवन सदस्य तमुधीं यूकेले प्रदान गर्ने सर्वोच्च सम्मान आदर्श तमु २०२० बाट सुशोभित प्रतिभासमेत हुनुहुन्छ । उहाँ विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसका सन्दर्भमा आयोजित पहिलो संस्करणको खुला पर्वतीय दौड बीचसमेत सम्मानित भइसक्नुभएको छ । प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कपको २३ औं संस्करणको अवसरमा आयोजक सहारा क्लवले उहाँलाई सम्मान गरेको थियो ।
यस वर्ष असोज २४ गते आयोजना हुन गइरहेको तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता २०८३ लाई भव्य एवं सभ्य र सफल बनाउन अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चम्काउन सफल बहादुर कर्मवीर, अग्रज समाजसेवी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक तपाईं श्रीमान् कुसाङ गुरुङज्यूलाई अघिल्लो वर्ष जस्तै यस वर्ष पनि प्रथम पुरस्कार प्रायोजनका लागि सहकार्य गर्न पाउँदा गौरवबोध भएको कार्यत्रक्रम संयोजक दीननाथ बराल बताउनुहुन्छ ।

उहाँले प्रथम पुरस्कार प्रायोजन गरेसँगै प्रतियोगिता सम्पन्न नहुन्जेलसम्म विभिन्न निकाय र सरोकारवालासँग हुने छलफल तथा प्रचार–प्रसारमा हजुरको तस्वीर सहितको लोगो समावेश गरिने पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित उक्त दौड यही असोज २४ गते सम्पन्न हुुदैछ । दोस्रो संस्करणमा ८ देशका १६७ जना धावकले सहभागिता जनाएका थिए । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ५० हजार दोश्रोलाई ३० हजार र तेश्रो हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । खुल्ला सहित ६ वटा इभेन्टमा उक्त दौड हुने भएको हो ।