
पोखरा,
भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशले दुःख व्यक्त गर्दै बाढीपीडितको सहयोगका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ।
संघले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को यस कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत संघले उक्त रकम सहयोग गरेको जनाएको छ। संघका अनुसार सहयोग रकम केन्द्रीय राहत कोषका लागि हस्तान्तरण गरिएको हो। नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष सुशीलकुमार गुरुङ, वरिष्ठ उपाध्यक्ष सुनील श्रेष्ठ, कोषाध्यक्ष तारानाथ आचार्य तथा निवर्तमान अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष मनोहरप्रसाद श्रेष्ठले उक्त रकम संघका केन्द्रीय सहकोषाध्यक्ष विनोद केसीलाई हस्तान्तरण गरेका हुन्।
संघले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको पीडामा आफूहरू साथमा रहेको जनाएको छ। विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको भन्दै संघले राहत तथा पुनःस्थापनाका कार्यमा हातेमालो गर्न आग्रहसमेत गरेको छ। संघले बाढीपहिरोबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।






