
पोखरा,
निरन्तरको वर्षाका कारण पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट क्षेत्रमा पानीको बहाव बढेर ताल बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले नदी आसपासका बस्तीका स्थानीयलाई सचेत रहन आग्रह गरेको हो।
पोखरा महानगरपालिका–९ र १० को रामघाट क्षेत्रमा सेती नदीको निकास साँघुरो हुँदा वर्षायाममा पानी थुनिएर ताल बन्ने गरेको स्थानीय बताउँछन्। पोखराको मध्यभाग हुँदै बग्ने सेती रामघाट क्षेत्रमा केही फराकिलो भागमा पुगेपछि पानीको बहावमा अवरोध हुँदा त्यहाँ ताल बन्ने गरेको हो। रामघाटमा पानीको सतह बढेसँगै नदी किनारमा रहेका सुकुम्वासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृह समेत जोखिममा परेका छन्। सेती नदीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि आसपासका बस्तीमा सुरक्षाकर्मी परिचालन गरी निरन्तर निगरानी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट आसपासको क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका छन्। “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था छैन। हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मूल्याङ्कन गरिरहेका छौँ,” सहायक प्रजिअ बरालले भन्नुभयो, “अहिले आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्न आवश्यक छ। खतरा हुनेबित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारी छ।”
केही वर्षअघि रामघाटमा रहेको सुकुम्वासी बस्ती ठूलो पानीका कारण डुबानमा परेको थियो। त्यसपछि उक्त क्षेत्रबाट सुकुम्वासी बस्ती हटाइएको थियो। पछिल्ला वर्षमा त्यति ठूलो डुबान नभए पनि वर्षायाममा रामघाटमा पानी थुनिएर ताल बन्ने गरेको स्थानीयको भनाइ छ। यसैबीच, असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षा हुनसक्ने मौसमविद्हरूको पूर्वानुमानसँगै पोखराका नदी तथा जलाशय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती तथा जलप्रवाह क्षेत्र आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन सुरक्षा निकायले आग्रह गरेको हो। अविरल वर्षाका कारण कास्कीका केही ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्। अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँ पुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ मोदी खोलाले स्याउली बजार क्षेत्रमा करिब १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सडक सम्पर्क प्रभावित भएको छ। त्यस्तै अन्नपूर्ण गाउँपालिका–३ भोलडाँडामा अविरल वर्षाका कारण घरको आँगन तथा भान्सा कोठा भासिएको छ। स्थानीय ४० वर्षीया रुपा विकको घरको आँगन र किचन कोठा भासिँदा किचनमुनि रहेको बाख्राको खोरसमेत भत्किएको छ। खोरमा रहेका बाख्रामध्ये एउटा पाठो मरेको जनाइएको छ। घर जोखिममा परेपछि रुपा विकसहित पाँच जनाको परिवारलाई नजिकै रहेको बहिनीको घरमा सारिएको छ। लगातारको वर्षाका कारण कास्कीका नदी, खोला तथा पहाडी क्षेत्रमा जोखिम बढिरहेकाले स्थानीय प्रशासनले नदी तथा खोलाको बहाव बढेको अवस्थामा किनारमा नजाने, जोखिमयुक्त बस्तीका बासिन्दा सुरक्षित स्थानतर्फ सर्ने र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ।
तष्विर शञ्जय शाक्य \पोखरा




