दुबईबाट पोखरा आउँदा गायिका रजना रिमालको अनुभव ! ‘नेपालबाट विश्व जोडिने बाटो फराकिलो बनाऔँ’

-


     पोखरा क्लिक     
     असाेज १० गते २०८३ मा प्रकाशित


पोखरा,

विदेशबाट नेपाल फर्किँदा अहिलेसम्म काठमाडौंलाई नै आफ्नो एकमात्र गन्तव्य बनाउँदै आउनुभएकी गायिका रजना रिमाल यसपटक भने दुबईबाट सिधै पोखरा आउनुभएको छ । काठमाडौंमा बसोबास भए पनि आफ्नै इच्छाले पोखरामा अन्तराष्ट्रिय उडानको प्रबद्र्धन गर्न यसपटक पोखरा हुँदै नेपाल प्रवेश गर्ने निर्णय गर्नुभएकी रिमालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष अनुभव लिनुभएको हो।

फ्लाईदुबईले दुबई–पोखरा नियमित उडान सुरु गरेको केही दिनमै उहाँले दुबईबाट पोखरा यात्रा गर्नुभएको हो। पोखरा आइपुगेपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै रिमालले दुबईबाट पोखरा आउँदाको यात्रा निकै आरामदायी र सुखद रहेको बताउनुभएको छ।उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्य प्रत्यक्ष रूपमा विश्वसँग जोडिँदा सिर्जना हुन सक्ने सम्भावनालाई आफ्नै यात्रामार्फत अनुभव गर्न पाएको उल्लेख गर्नुभएको छ।

रिमालले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने यस्ता उडानलाई दिगो र विस्तार गर्न नेपालमै रहेका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग महत्वपूर्ण हुने धारणा राख्नुभएको छ। उहाँले लेख्नुभएको छ, “हामीले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्‍यौँ भने मात्र यस्ता उडानहरू दिगो र विस्तार हुने सम्भावना बलियो हुन्छ।” पोखरालाई विदेशी पर्यटकसँग, नेपाली नागरिकलाई विश्वसँग तथा यहाँको पर्यटन र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अन्तर्राष्ट्रिय उडानहरू आगामी दिनमा थप विस्तार हुनुपर्ने उहाँको अपेक्षा छ। “नेपालबाट विश्व जोडिने बाटो अझ फराकिलो बनाऔँ,” उहाँले भन्नुभएको छ।

यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईले नियमित उडान सुरु गरेको तेस्रो दिन (शुक्रबार) मा मौसमका कारण उडान प्रभावित भएको थियो । अविरल वर्षाका कारण आवश्यक भिजिबिलिटी नपुगेपछि विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन्। विमानस्थलका प्रबन्धक सूर्यबहादुर खत्रीका अनुसार भिजिबिलिटी नपुगेपछि एकमात्र अन्तर्राष्ट्रिय उडानसमेत रद्द भएको थियो । फ्लाई दुबईले शनिबार पोखराबाट ८५ जना र दुबईबाट गायिका रचना रिमाल सहित १ सय ५६ जना यात्रु पोखरा भित्रिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । काठमाण्डौंको जस्तो भिजिविलिटि कम हुँदा जडान गरीने सिस्टम आरएनए ए आर पोखरामा पनि जडान गर्नुपर्ने उहाँले माग गर्नु भएको छ ।