विश्व पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ९ असोज,

विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनि सडक महोत्सव २०८३’ आयोजना गर्ने तयारी गरेको छ । यही असोज ११ गते ( २७ सेप्टेम्बर २०२६) मा लेकसाइड क्षेत्रमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सहित उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराले आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

विश्व पर्यटन दिवस २०२६ को मूल सन्देश ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ लाई आत्मसात् गर्दै आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पोखराको पर्यटन व्यवसाय, स्थानीय कला–संस्कृति, खानाका परिकार र आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गर्ने रेवान पोखराका अध्यक्ष बसन्त गौतमले बताउनु भयो । पर्यटन क्षेत्रले विभिन्न चुनौती र विषम परिस्थितिको सामना गरिरहेको अवस्थामा ‘नेपाल खुला छ’ र ‘पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सकारात्मक सन्देश देश तथा विदेशमा प्रवाह गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।

महोत्सवको मुख्य उद्घाटन कार्यक्रम अम्मट क्षेत्रमा हुनेछ । उद्घाटनपछि मुख्य स्टेजमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ । त्यस्तै, सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा साँझ ५ बजेदेखि राति १० बजेसम्म गन्धर्व गायन तथा लेकसाइड स्ट्रीट नं. ४ र ५ बीचको क्षेत्रमा सांस्कृतिक नृत्यल गायतका कार्यक्रम सञ्चालन गरिने रेवान पोखराले जनाएको छ । अध्यक्ष गौतमले पोखरा क्षेत्रका पर्यटन गन्तव्यहरू खुला र सुरक्षित रहेको सन्देश दिन पनि महोत्सव आयोजना गरिएको दाबी गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवले सुस्ताएको पोखराको पर्यटनलाई केही हदसम्म चलायमान बनाउन सहयोग पुग्ने बताउनु भयो । पोखरामा फ्लाई दुबईले सुरु गरेको अन्तर्राष्ट्रिय उडानका कारण थप पर्यटकीय गतिविधि बढ्न थालेको दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय हवाई सम्पर्कले पोखराको पर्यटनमा नयाँ सम्भावना सिर्जना गरेको जनाउनु भयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत जयशक्ति सराफले विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने बताउनु भयो । पर्यटन प्रवद्र्धनसँग सम्बन्धित यस्ता कार्यक्रमलाई बोर्डले विगतका वर्षदेखि सहयोग गर्दै आएको जनाउनु भयो । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले पर्यटन विकास तथा प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई पर्यटकमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन सञ्चारकर्मीको साथ, सहयोग तथा प्रचार–प्रसार आवश्यक रहेको बताउनु भयो । पर्यटनको मुख्य सिजन प्रारम्भ हुने समयमै आयोजना हुन लागेको महोत्सव मार्फत पोखरा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश प्रवाह गर्ने उहाँले जनाउनु भयो । पोखराको मौलिक संस्कृति, खानाका परिकार, स्थानीय कला तथा आतिथ्यलाई समेत प्राथमिकताका साथ महोत्सवमा प्रस्तुत गरिने भएको छ । यस बर्ष विश्व पर्यटन दिवसका अवसरमा हुने धेरे कार्यक्रम स्थगित भएका छन् । भोटेकोशी बाढी सहित पछिल्लो समयमा ठुलो बर्षाद यही असोज ८ देखि १२ गतेसम्म हुने मौसम विदहरुले बताउदै आएसंगै असोज ९ गते देशका धेरै ठाँउमा प्रभावित भएको छ ।