
काठमाडौँ,
हिमालय एयरलाइन्सले काठमाडौँ र चीनको सांघाई बीच नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सका अनुसार आगामी सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान सुरु हुनेछ।
सिधा उडान सुरु भएसँगै नेपालबाट सांघाई जाने तथा सांघाईबाट नेपाल आउने यात्रुहरूले ट्रान्जिटको झन्झटबिना प्रत्यक्ष हवाई यात्रा गर्न सक्नेछन्। यसले दुई देशबीच पर्यटन, व्यापार तथा जनस्तरको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा साप्ताहिक दुई उडान सञ्चालन गर्ने जनाएको छ। काठमाडौँबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार उडान हुनेछ भने सांघाईबाट काठमाडौँ फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ। यात्रुको माग र उडानमा हुने यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने तयारीसमेत एयरलाइन्सले गरेको छ।
नेपालको मुख्य पर्यटन सिजन सुरु हुने समयमा सांघाईसँग पुनः प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुनुलाई पर्यटन व्यवसायीहरूले समेत महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। चीन नेपालको प्रमुख पर्यटकीय बजारमध्ये एक भएकाले सिधा उडानले चिनियाँ पर्यटकको नेपाल आगमन बढाउन तथा पर्यटन, होटल, आतिथ्य र अन्य सम्बन्धित व्यवसायलाई सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–सांघाई रुटमा नियमित उडान पुनः सञ्चालन गर्न पाउँदा नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार एयरलाइन्सले चीनमा नयाँ गन्तव्य पहिचान गर्दै नियमित उडान विस्तार गर्ने योजनालाई निरन्तरता दिइरहेको छ।
काठमाडौँ–सांघाई सिधा उडानले दुई देशका नागरिकबीचको आवतजावत सहज बनाउनुका साथै व्यापारिक तथा पर्यटकीय गतिविधि विस्तारमा योगदान पुर्याउने एयरलाइन्सको विश्वास छ।
उडान तालिका
काठमाडौँ → सांघाईस् प्रत्येक सोमबार र शुक्रबार
सांघाई → काठमाडौँस् प्रत्येक मंगलबार र शनिबार
सेवा सुरुस् २८ सेप्टेम्बर २०२६
सबै उडान समय सम्बन्धित विमानस्थलको स्थानीय समयअनुसार हुने । काठमाडौँ–सांघाई उडानको टिकट हिमालय एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर तथा एयरलाइन्सको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत बुक गर्न सकिनेछ।
हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। हाल एयरलाइन्ससँग चारवटा विमान छन्, जसमा तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ रहेका छन्। कम्पनीले चीनसहित मध्यपूर्व तथा दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ।




