कलाकार बिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

-


     पोखरा क्लिक     
     असाेज ६ गते २०८३ मा प्रकाशित


पोखरा,

चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन्।

तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ। अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर चलचित्र हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन्। दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन्। यी शहरमा ‘पेन्सन पट्टा’ प्रति दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। दोस्रो सातामा पनि विभिन्न हलमा चलचित्रका शो थपिएका छन्। कतिपय दर्शकले चलचित्र पाँच पटकसम्म हेरेको प्रतिक्रिया समेत पाइएको माओत्से बताउँछन्। किशोर–किशोरीदेखि वृद्धवृद्धासम्मका दर्शक चलचित्रप्रति आकर्षित भएको उनको अनुभव छ।

माओत्सेको देश दौडाहाको अर्को रोचक पक्ष भनेको हललाई कुनै पूर्वजानकारी नदिई एक्कासि पुग्नु हो। उनी हलमा पुग्दा व्यवस्थापकदेखि कर्मचारीसम्म अचम्मित हुने गरेका छन्। सामान्यतया कलाकार तथा सिनेकर्मी हल भ्रमणमा आउँदा पूर्वजानकारी हुने भए पनि माओत्से भने कुनै औपचारिक जानकारीबिना सिधै हलमा पुगेर दर्शकसँग भेटिरहेका छन्। यसको कारणबारे माओत्से भन्छन्, “म आफूलाई सामान्य मान्छे ठान्छु। त्यसैले दर्शकसँग भेट्न कुनै ठूलो तयारी र औपचारिकता आवश्यक ठानिनँ। हलमा पुग्ने, दर्शक भेट्ने र उनीहरूको प्रतिक्रिया सुन्ने हो। हललाई अगाडि नै जानकारी गराउँदा पनि के फरक पर्छ ररु”

उनका अनुसार चलचित्र चलाउन कलाकारको ठूलो टोली लिएर देश दौडाहमा निस्कनुपर्छ भन्ने सोचबाट आफू टाढा छन्। ‘पेन्सन पट्टा’ ले दर्शकको साथ पाएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र दर्शककै आग्रहका आधारमा आफू देश दौडाहमा निस्किएको उनको भनाइ छ। “चलचित्र रिलिजअघि कलाकार बोकेर प्रचारमा हिँड्नेभन्दा चलचित्र रिलिज भएपछि दर्शकले के भनिरहेका छन्, कहाँबाट बोलाइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण लाग्यो। सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रिया आउन थाले, विभिन्न ठाउँबाट भेट्न आउन आग्रह हुन थाल्यो। त्यसपछि एक्लै हिँड्ने निर्णय गरेँ,” माओत्सेले भने।

माओत्सेका अनुसार दर्शकसँग प्रत्यक्ष भेट्दा सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा फरक अनुभूति हुन्छ। हलमा बसेर चलचित्र हेरेर बाहिर निस्किएका दर्शकले कथाका पात्र, सम्बन्ध, परिवार र चलचित्रले उठाएका विषयबारे गर्ने प्रत्यक्ष प्रतिक्रिया आफूका लागि महत्वपूर्ण रहेको उनी बताउँछन्। ‘पेन्सन पट्टा’ ले प्रदर्शनको १२औँ दिनसम्म देशभरबाट दर्शकको राम्रो साथ पाइरहेको छ। दोस्रो सातामा पनि विभिन्न शहरका हलमा शो थपिनु, दर्शक दोहोरिएर चलचित्र हेर्न पुग्नु र किशोरदेखि वृद्ध पुस्तासम्मका दर्शकको सहभागिता देखिनुले चलचित्रप्रतिको दर्शक आकर्षणलाई थप बल दिएको छ। कलाकारको ठूलो टोलीभन्दा निर्देशक आफैँ दर्शकको बीचमा पुगेर चलचित्रको प्रतिक्रिया सुन्ने शैली अहिले ‘पेन्सन पट्टा’ को प्रमोसनल यात्राको फरक दृश्य बनेको छ ।