
पोखरा,
नेपालको संविधान तथा कानुनले प्रत्याभूत गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई कागजमा सीमित नराखी हरेक बालबालिकाको पहुँचमा पुर्याउनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । बहिनी एडुकेयर फाउण्डेसनको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा मंगलबार आयोजित ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रियामा सहभागीले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई पुनः शिक्षाको मूलधारमा ल्याउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था र यसको कार्यान्वयन अवस्थाबारे प्रस्तुति राख्नुभएको थियो । उहाँले शिक्षाको अधिकार सुनिश्चित गर्न कानुनी प्रावधानसँगै त्यसको प्रभावकारी कार्यान्वयन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले निःशुल्क शिक्षाको अधिकार व्यवहारमै अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुने वातावरण बनाउन राज्यका सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले शिक्षामा सबै बालबालिकाको पहुँच विस्तार गर्न सामाजिक संघसंस्थाले सरकारका सहयोगी निकायका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, शिक्षामा पुनःसमावेश तथा निरन्तरताका लागि स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।बहिनी एडुकेयर फाउण्डेसनका निर्देशक सुरेन्द्र परियारले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । अन्तरक्रियामा विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था, उनीहरूलाई विद्यालयमा फर्काउने उपाय, शिक्षामा पहुँचका विद्यमान चुनौती तथा निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था, विद्यालयका प्रधानाध्यापक, बाल क्लबका प्रतिनिधि, पत्रकार तथा अधिकारकर्मीको सहभागिता थियो । सहभागी वक्ताले हरेक बालबालिकालाई विद्यालयसम्म पुर्याउने र शिक्षामा टिकाइराख्ने जिम्मेवारी कुनै एक निकायको मात्र नभएकाले स्थानीय तह, विद्यालय, सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए । बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले गर्नुभएको थियो ।





