
हाङजाउ, चीन,
फ्लाई दुबईले सुरु गर्न लागेको दुबई–पोखरा सीधा उडानको भव्य सफलताको शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्ड (एनटीबी) वरिष्ठ निर्देशक एवं गण्डकी प्रदेश कार्यालयका निवर्तमान प्रमुख मणिराज लामिछानेले यसलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ। चीनबाट आफ्नो शुभकामना सन्देश दिँदै उहाँले यो अन्तर्राष्ट्रिय सञ्जालले पोखरासहित समग्र देशको पर्यटन र आर्थिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व लामिछाने हाल चीनको प्रतिष्ठित झेजियाङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि (पीएचडी) अध्ययनरत हुनुहुन्छ। झेजियाङ विश्वविद्यालयअन्तर्गतको ‘इन्स्टिच्युट अफ ग्लोबल डेभलपमेन्ट’ ले सन् २०२६ सेप्टेम्बरदेखि सञ्चालन गरेको ‘अन्तर्राष्ट्रिय मामिला तथा विश्वव्यापी सुशासन’ (International Affairs and Global Governance) सम्बन्धी ३ वर्ष ६ महिना अवधिको विशेष पीएचडी कार्यक्रमका लागि उहाँ विश्वभरबाट प्रतिस्पर्धाका आधारमा छनोट भएका उत्कृष्ट १५ शोधार्थीभित्र पर्न सफल हुनुभएको हो।





