फ्लाई दुबईको नियमित उडानको सुरुवातमै व्यवसायी उत्साहित, आगन्तुक पाहुना तथा यात्रुलाई स्वागत गर्न तयार, दुबईबाट आउने भन्दा जाने सङख्या बढी

-


     पोखरा क्लिक     
     असाेज ६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ६ असोज,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि पोखरा–दुबई सीधा हवाई सम्पर्क सुरु हुन लागेकाले यहाँका होटल, रेष्टुराँ तथा पर्यटनसम्बद्ध व्यवसायीले यात्रु तथा पर्यटकलाई स्वागत गर्न विभिन्न छुट तथा सेवा सुविधा घोषणा गरेका छन् ।

फ्लाई दुबईको पहिलो नियमित उडान बुधबार दुबईबाट पोखरा आउनेछ । उडान तालिकाअनुसार जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पोखराबाट यात्रु लिएर एक घण्टा पछि साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । उडानको सुरुवातसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ ।

पहिलो उडानका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा बिदाइ कार्यक्रमसमेत आयोजना गरिने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताउनु भयो । परिषद लगायत पर्यटनसम्बद्ध संस्थाको समन्वयमा बुधबार अपराह्न ४ बजेदेखि दुबई जाने यात्रुलाई खादा–माला लगाएर बिदाइ तथा दुबईबाट पोखरा आउने पाहुनालाई स्वागत गर्ने तयारी गरिएको उहाँले जनाउनु भयो । पोखरामा लामो समयदेखि अन्तराष्ट्रिय नियमित उडान हुन नसकेको अबस्थामा फ्लाई दुबईले धेरै आशा जगाएको अध्यक्ष भुजेलले जनाउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले नियमित अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलले आवश्यक सेवा तथा पूर्वाधारको तयारी पूरा गरेको बताउनुभयो । पहिलो उडानमा आउने विमानलाई पानीको फोहोराले स्वागत गरिने उहाँले जानकारी दिनुभयो । अध्यागमन कार्यालय पोखराका प्रमुख अध्यागमन अधिकृत हरिबहादुर भुजेलले पनि अन्तर्राष्ट्रिय उडानका लागि कार्यालय आवश्यक तयारी अवस्थामा रहेको बताउनुभयो र फ्लाई दुबईको टोलीले केही समयदेखि विमानस्थल तथा यहाँको अवस्थाबारे अवलोकन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखराबाट यस अघि निश्चित रुपमा चार्टर्ड फलाईट मात्र भएको अबस्थामा भोलिदेखि फ्लाई दुबईले विश्वकै जुन सुकै क्षेत्रबाट टिकट काट्न मिल्ने गरी खुल्ला गरी नियमित उडानको उडान तालिका सार्वजनीक गर्नु पोखरेलीको लागि ठुलो उपलब्धि भएको बताउनु भयो । केही समय संचालन गर्न सके यस अभियानले दिगो रुप लिने प्रवल सम्भावना रहेको बताउदै उहाँले पोखरेलीको सपना पूरा हुने दिनको रुपमा बुधबारलाई आफुले लिने गरेको उल्लेख गर्नु भयो । फ्लाई दुबईबाट आउने पर्यटकलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले विशेष छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रुलाई आबद्ध होटलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । हालसम्म करिब ५० होटल छुट योजनामा सहभागी भइसकेका छन् भने यो सङ्ख्या अझै बढ्ने जनाइएको छ । त्यस्तै पृथ्बी होटल व्यवसायी समितिले पनि होटल आवासमा २५ प्रतिशत छुट दिने निर्णय गरेको संघका निवर्तमान अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले बताउनु भयो ।

पर्यटन व्यवसायीले पोखरा–दुबई उडानलाई नियमित र दीगो बनाउन निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेकाले छुट योजना ल्याइएको बताएका छन्। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन पोखरा (रेवान) ले पनि फ्लाई दुबईबाट आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने भएको छ । रेवान पोखराका अध्यक्ष वसन्त गौतमका अनुसार बोर्डिङ पास देखाउने यात्रु तथा पर्यटकले उक्त सुविधा पाउनेछन् । हाललाई तीन महिनाका लागि लागू हुने छुट योजना आवश्यकता अनुसार थप गर्न सकिने उहाँले बताउनुभयो । होटल एण्ड रेष्टुराँ एसोसिएसन लेखनाथले पनि फ्लाई दुबईका यात्रु तथा पर्यटकलाई २५ प्रतिशतसम्म छुट दिने जनाएको छ । त्यस्तै, पदयात्रा तथा छोटो हाइकिङ गर्न चाहने पर्यटकलाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले निःशुल्क पदयात्राको व्यवस्था गर्ने टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले पोखरेलीको लामो समयदेखिको अन्तर्राष्ट्रिय नियमित उडानको अपेक्षा पूरा हुन लागेको बताउनुभयो । उहाँले फ्लाई दुबईको व्यावसायिक उडान सुरु हुने दिनलाई पोखराको पर्यटनका लागि महत्वपूर्ण दिनका रूपमा लिनुभएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा केही पर्यटकलाई निःशुल्क साइटसिइङ गराउने तयारीसमेत रहेको उहाँले जानकारी दिनुभयो ।पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई हुँदै विश्वका विभिन्न गन्तव्यसँग पोखरा जोडिने अवसर प्राप्त भएको बताउनु भयो । सुरुआती चरणमै उडानलाई नियमित र दीगो बनाउन पर्यटन व्यवसायी, सरकारी निकाय तथा निजी क्षेत्रले संयुक्त रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँकोे जोड थियो । उहाँका अनुसार पहिलो उडानमा पोखराबाट दुबई जाने एक बच्चा सहित १४६ जना र दुबईबाट पोखरा आउने ९९ जना यात्रु रहेका छन् । भोलि सम्म यो सङख्या बढ्न सक्ने श्रेष्ठले पोखराक्लिकलाई उल्लेख गर्नुभयो ।

पोखरा पर्यटन परिषद्, नाट्टा गण्डकी, होटल सङ्घ पोखरा, रेवान पोखरा, टान गण्डकी लगायत पर्यटनसम्बद्ध संस्थाले फ्लाई दुबईको उडानलाई लक्षित गरी संयुक्त रूपमा प्रवद्र्धनात्मक गतिविधि अघि बढाएका छन् । एकीकृत छुट प्याकेज तयार गरी एपमार्फत सार्वजनिक गर्ने तयारी समेत भइरहेको व्यवसायीले बताएका छन् । फ्लाई दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाइएको छ । फ्लाई दुबई र इमिरेट्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप तथा अमेरिकालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा एउटै टिकटमार्फत यात्रा गर्न सकिने सुविधा रहने बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको दैनिक उडान सुरु हुनुलाई यहाँका पर्यटन व्यवसायीले नयाँ अवसरका रूपमा लिएका छन्। यसअघि चीनको छेन्दुलगायत केही गन्तव्यबाट चार्टर्ड उडान भए पनि ती उडानले निरन्तरता पाउन सकेका थिएनन्। दुबई विश्वको प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखराबाट सीधा दुबई उडान सुरु भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार हुने र त्यसबाट पर्यटन तथा समग्र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नियमित उडानलाई दीगो बनाउन व्यवसायीले पाहुना स्वागतदेखि होटल, रेष्टुराँ, पदयात्रा तथा साइटसिइङसम्म विभिन्न सुविधा उपलब्ध गराउने तयारी गरेका छन्। यसैबिच, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ सहित विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थलको मंगलबार अवलोकन निरीक्षण गर्नु भएको छ ।