
पोखरा, ६ असोज,
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु हुनु पोखरेलीका लागि ठूलो उपलब्धि भएको बताएका छन् । पोखरेलका अनुसार यसअघि पोखराबाट अन्तर्राष्ट्रिय उडानका नाममा मुख्यतः चार्टर्ड उडानमा निर्भर रहनुपर्ने अवस्था रहेकामा अब फ्लाई दुबईले विश्वका विभिन्न स्थानबाट टिकट बुक गर्न सकिने गरी नियमित व्यावसायिक उडानको तालिका सार्वजनिक गर्नु महत्वपूर्ण उपलब्धि हो ।
“यो पोखरा–दुबई र दुबई–पोखराको मात्र उडानको कुरा होइन । विश्वका धेरै देश र अन्तर्राष्ट्रिय शहरसँग कनेक्सन भएको विश्वकै चर्चित कम्पनीले पोखरामा हवाई उडान सुरु गर्नु हामी पोखरेलीका लागि धेरै ठूलो कुरा हो,” पोखरेलले भने । उनले पोखरा–दुबई उडानलाई प्रभावकारी र दीगो बनाउन पोखरा तथा आसपासका क्षेत्रबाट विदेश जाने नेपाली र नेपाल आउने विदेशी यात्रुले समेत यसै रुटलाई प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
“युरोप जाँदा पोखराबाट दुबई हुँदै जाने र पोखरा क्षेत्र वा नेपाल आउँदा पनि दुबईबाट पोखरा आउने गरी यो रुटलाई प्रयोग गर्न सकेमा उडानलाई प्रभावकारी बनाउन सकिन्छ,” उनले भने । पोखरेलले रोजगारका लागि विदेश जाने तथा रोजगारी सकेर स्वदेश फर्किने आम नेपालीलाई समेत फ्लाई दुबईको पोखरा रुट प्रयोग गर्न आग्रह गरेका छन् ।
“रोजगारका लागि विदेश जाने वा विदेशबाट स्वदेश फर्किने आम नेपालीहरूले अब फ्लाई दुबईको पोखरा रुट प्रयोग गर्नुपर्छ । हामीले यो रुटलाई प्रयोगमा ल्याउन सक्यौं भने पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने आधार थप बलियो हुन्छ,” पोखरेलले भने । उनले फ्लाई दुबईको उडान केही समय निरन्तर सञ्चालन हुन सके यसले दीर्घकालीन स्वरूप लिन सक्ने सम्भावना रहेको पोखराक्लिकलाई बताए । पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने अवसरका रूपमा यस उडानलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
“पोखरेलीको लामो समयदेखिको सपना पूरा हुने दिनका रूपमा मैले बुधबारलाई लिएको छु,” पोखरेलले भने, “अब यो अवसरलाई कसरी दीगो बनाउने भन्ने जिम्मेवारी पनि हामी सबैको हो ।” विश्व पर्यटन दिवसको अवसर पारेर फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्न लागेको हो । उडान तालिकाअनुसार पहिलो उडान बुधबार साँझ ६ः१५ बजे दुबईबाट पोखरा आइपुग्नेछ भने पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ ।
नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पोखराबाट विदेश जाने यात्रु तथा विदेशबाट पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा आउने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ । यसबाट पोखराको पर्यटन प्रवर्द्धनसँगै होटल, यातायात, ट्राभल, रेस्टुरेन्टलगायत पर्यटनसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको अपेक्षा छ ।





