गोपालधाममा शिविर १ सय १६ लाभान्वित

-


     पोखरा क्लिक     
     असाेज ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३ असोज,

यूआरएलको प्रविधिक सहयोगमा गोपाल सेवा केन्द्र (गोपालधाम) पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच सित्तैमा गरिएको हो ।

कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्टिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । ‘ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ सधैं औषधी खाइरहँदा हानि गर्छ,’ उनले भने, ‘डाक्टरको परामर्शमा औषधी खान खानुपर्छ । बेला बेलामा जाँच पनि गराइरहनुपर्छ ।’ युआरएएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले गरिरहेका शिविरहरु विश्वास र सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे । उनले भने, ‘हामी यो क्षेत्रको एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब हौँ, गुणस्तर र सेवामा पनि हामी पहिलो नै बनेका छौँ ।’ गोपालधामका अध्यक्ष लक्ष्मीशरण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामजीप्रसाद पराजुली र महासचिव कल्पना सुवेदीले पनि बोलेका थिए । स्थापनादेखि नै युआरएलले आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क रगत जाँच शिविर आयोजना गर्दै आएको छ । शनिबार आयोजित शिविर २ सय ३८ औं हो । २०७० सालमा स्थापना भएको युआरएलले गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरी २४ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।