भारतमा स्थगित गोर्खा भर्ती केन्द्र पुनः सञ्चालन गर्न सेना प्रमुख सेठसमक्ष आग्रह

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा,

नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती पुनः सञ्चालन गर्न भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसमक्ष पोखरामा आग्रह गरिएको छ । नेपाल भ्रमणमा रहेका जनरल सेठ आज (बुधबार) पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका बेला भारतीय भूतपूर्व सैनिकहरूले अग्निपथ योजना अन्तर्गत गोर्खा भर्ती खुलाउन पहल गर्न आग्रह गरेका गर्नु भएको हो ।

भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपालका सहअध्यक्ष तथा गण्डकी अध्यक्ष क्याप्टेन गजबहादुर थापाले जनरल सेठसँग प्रत्यक्ष भेट गर्दै नेपालबाट भर्ती रोकिँदा हजारौँ नेपाली युवा अवसरबाट वञ्चित भएको गुनासो गर्नु भयो । उनले भर्ती पुनः सञ्चालनका लागि भारतको तर्फबाट पनि नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गर्न उहाँले आग्रह गर्नुभयो । ‘भर्तीबारे हामीले आवाज उठाएका छौँ। नेपाल र भारतको मित्रता भइरहनेछ। तपाईंहरूले पनि कुरा गर्नुपर्छ,’ थापाले जनरल सेठसमक्ष भन्नुभयो, ‘हामीले फाइट गरेका छौँ । भर्ती हुनेछ, भर्ती खुल्नेछ ।’नेपाल सरकारले अग्निपथ योजनाका प्रावधानप्रति असहमति जनाउँदै सन् २०२२ यता नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती रोक्दै आएको छ । भारतले १४ जुन २०२२ देखि लागू गरेको अग्निपथ योजनाअन्तर्गत भर्ती हुने अग्निवीरको सेवा अवधि चार वर्षको हुन्छ । चार वर्षपछि २५ प्रतिशतसम्मलाई स्थायी सैनिकका रूपमा निरन्तरता दिने र बाँकीलाई सेवा निधिसहित अवकाश दिने व्यवस्था छ ।

यही व्यवस्थाप्रति नेपालले प्रश्न उठाउँदै आएको छ । नेपाल सरकारको अनुमति नहुँदा भारतीय सेनामा नेपाली युवाको परम्परागत गोर्खा भर्तीसमेत रोकिएको छ । त्यसको प्रत्यक्ष असर पोखरा र आसपासका जिल्लासहित नेपालभरका भर्तीका आकांक्षी युवामा परेको भूतपूर्व सैनिकहरूको भनाइ छ । क्याप्टेन थापाले भर्ती पुनः सञ्चालन भए बेरोजगार नेपाली युवाले सैन्य अनुभवसँगै आर्थिक अवसर पाउने र देशमा रेमिट्यान्ससमेत भित्रिने बताउनु भयो । ‘भर्ती खुल्ने हो भने धेरै बेरोजगार युवाले छोटो समय भए पनि सेवा गर्छन्। उनीहरूले पैसा मात्रै होइन, अनुभव पनि बटुल्छन्, जुन अनुभव पछि नेपालसहित अन्य देशमा समेत उपयोग गर्न सक्छन्,’ उहाँले भन्नुभयोे, ‘भर्ती रोकिँदा अहिले धेरै युवा खाडी मुलुकतर्फ पलायन भइरहेका छन् । नेपालले अग्निपथ योजनामा नेपाली युवालाई पठाउने वातावरण बनाउनुपर्छ।’

भूतपूर्व सैनिकहरूले भर्ती खोल्न आग्रहसँगै पेन्सनसम्बन्धी समस्या समाधानका लागि समेत भारतीय सेना प्रमुखको ध्यानाकर्षण गराएका छन्। कागजातमा नाम, थर वा विवरण नमिलेका कारण नेपालमा हजारौँ भूतपूर्व सैनिकका श्रीमती तथा परिवारले पेन्सन पाउन नसकेको उहाँहरुको गुनासो छ । थापाका अनुसार कागजातमा सामान्य त्रुटि देखाएर विभिन्न निकायबाट थप कागजपत्र माग्ने क्रमका कारण कतिपय परिवार लामो समयदेखि पेन्सनबाट वञ्चित छन् । उहाँले स्थानीय प्रशासनबाट एउटै व्यक्ति भएको प्रमाणित गरिएका अवस्थामा फोटो, अनुहार वा औँठाछापको आधारमा समेत पहिचान पुष्टि गरी पेन्सन उपलब्ध गराउने व्यवस्था मिलाउन जनरल सेठसँग आग्रह गर्नुभयो । जनरल सेठले भूतपूर्व सैनिकहरूको समस्या चासोपूर्वक सुन्नु भएको थियो । उहाँले भूपू सैनिक र उनीहरूका परिवारको कल्याण तथा सेवासुविधाका लागि भारतीय सेनाले सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखराबाट मात्रै भारतीय सेनाबाट पेन्सन बुझ्ने भूतपूर्व सैनिक तथा परिवारका सदस्यको संख्या ६० हजारभन्दा बढी रहेको बताइएको छ । नेपालभर यस्तो संख्या करिब १ लाख २० हजार रहेको भूतपूर्व सैनिकहरूको भनाइ छ । कार्यक्रममा कीर्ति चक्रबाट क्याप्टेन दिलबहादुर थापा तथा शौर्य चक्रबाट क्याप्टेन केशबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । त्यसैगरी चुमनसिंह गुरुङ, रामप्रसाद गुरुङ, कृष्णबहादुर क्षेत्री, गणेशबहादुर याख्खा लिम्बू, शुभराज राई, मीनबहादुर गुरुङ र होबिर सेनलाई सेना मेडल प्रदान गरिएको थियो। विशेष सेवा मेडलबाट क्याप्टेन ठाकुरप्रसाद पौडेल सम्मानित हुनुभयो । लामो समय भारतीय सेनामा सेवा गरेका नौ जना वरिष्ठ भूतपूर्व सैनिकलाई ‘योद्धा सेवा सम्मान’ प्रदान गरिएको थियो। विभिन्न युद्ध तथा सैन्य अभियानमा ज्यान गुमाएका सैनिकका १० जना श्रीमती तथा आमालाई ‘वीरनारी’का रूपमा सम्मान गरिएको थियो। घाइते आठ जना भूतपूर्व सैनिकलाई मोबिलिटी स्कुटर समेत प्रदान गरिएको थियो।