‘पेन्सन पट्टा’ आफ्नै समाजको कथा हो अभिनेता दयाहाङ राई

-


     पोखरा क्लिक     
     भाद्र ३ गते २०८३ मा प्रकाशित


पोखरा,

अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्। भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले ‘पेन्सन पट्टा’ ले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढंगले प्रस्तुत गरेको बताए।

चलचित्रमा आफूले निर्वाह गरेको पात्रसँग लाउरे परिवारको व्यक्तिगत पारिवारिक सम्बन्ध भने नरहेको स्पष्ट पार्दै राईले भने, “लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन। तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्।” तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खालीहरूले समाज र देशका लागि दिएको योगदान सम्झनलायक रहेको बताए। उनका अनुसार ‘पेन्सन पट्टा’ केवल एउटा परिवारको कथा नभई हरेक नेपाली समाजभित्रका कथा र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने विषय हो।

“पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ,” राईले भने, “हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु चलचित्रको विशेषता हो।” जीवनको उद्देश्य, प्रेम र सम्बन्धलाई महसुस गर्दै अघि बढ्ने नेपाली समाजको कथा चलचित्रले प्रस्तुत गरेको उनको भनाइ छ। सिनेमाको चरित्रमार्फत नेपाली समाजका विभिन्न मनोविज्ञानलाई बुझ्न पाउनु आफ्नो लागि सुखद पक्ष भएको राईले बताए। “सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्,” उनले भने।

आफूलाई लेखनमा रुचि भए पनि तत्कालै निर्देशनमा जाने आँट नगरेको राईले बताए। “लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन। अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने। चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई चलचित्रको कथाको आधार बनाइएको बताए। गोर्खालीको निधनपछि उसको परिवारले पेन्सनबापत पाउने सुविधालाई सहज रूपमा ग्रहण गर्न नसक्दा उत्पन्न हुने समस्या, उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ।

“आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ। त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो। पेन्सन पट्टा तपाईँ–हाम्रै समाजको विषयवस्तु हो।” निर्देशक गुरुङले आफूहरूले आफ्नै परिवेशको कथा इमानदारीपूर्वक प्रस्तुत गरेको बताए। चलचित्रकी अभिनेत्री सोल गुरुङले कथा मन परेकै कारण आफू चलचित्रमा जोडिएको बताइन्। सानैदेखि आफूले हेर्दै आएका कलाकार दयाहाङ राईसँग काम गर्न पाउनु सुखद अनुभव भएको उनको भनाइ छ। चलचित्र राम्रो बनेकाले दर्शकले रुचाउने विश्वास उनले व्यक्त गरिन्।

त्यस्तै, अभिनेत्री मनिका गुरुङले ‘पेन्सन पट्टा’ को विषयवस्तुले आफूलाई आकर्षित गरेको बताइन्। समयसापेक्ष विषय भएकाले चलचित्रलाई दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको उनले बताइन्।चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले चलचित्रको प्रचारप्रसारमा सहयोग गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरे। नेपाली समाजकै कथा भएकाले तथा पोखराको ताङतिङ र आसपासका क्षेत्रमा चलचित्रको छायाङ्कन गरिएकाले ‘पेन्सन पट्टा’ को विषय समाजसम्म पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उनले बताए। दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ ९दिलु० लगायतका कलाकारको अभिनय रहेको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।